बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी भदौ ११ गतेदेखि शेयर जारी गर्ने जनाएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न भएको थियो।
कम्पनीको जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। यसमध्ये २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो। त्यसमध्ये ५ लाख ६६ हजार कित्ता स्थानीय बासिन्दालाई, ५ लाख २९ हजार ४०० कित्ता विदेशमा रहेका नेपालीहरुलाई, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीहरुलाई र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट भइसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणलाई ४३ लाख ४१ हजार ८० कित्ता साधारण शेयर निष्काशन गर्नेछ। यी शेयरहरुको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
सार्वजनिक निष्काशनमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्काशन अवधि छिट्टैमा भदौ १५ गते बन्द हुनेछ भने ढिलोमा भदौ २५ गतेसम्म रहनेछ।
आईपीओ निष्काशनको लागि गरिएको मूल्याङ्कनमा केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।
कम्पनीद्वारा सञ्चालित आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहने अनुमान गरिएको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहने उल्लेख छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले निर्वाह गर्नेछ। इच्छुक सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाको सि-आस्बा प्रणाली वा मेरो शेयर अनलाइन प्लेटफर्म मार्फत आवेदन दिन सक्नेछन्।
 
         
             
     
    
 
     
                                 
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                             
                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            