नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ ।
युके–नेपाल बिजनेस फोरमले मङ्गलवार काठमाडौँमा आयोजना गरेको “अनप्याकिङ नेपाल: मार्केट अपरच्युनिटीज फर युके बिजनेस ” सेसनमा विशेष वक्ताको रूपमा बोल्दै अध्यक्ष ढकालले महासङ्घको पहलमा सरकारले लगानी सहज बनाउन ३० भन्दा बढी कानुनी सुधारहरू गरेको जानकारी दिँदै यी सुधारहरूले उद्योग व्यवसायमैत्री वातावरण निर्माण भइरहेको बताउनु भयो ।
यस्तै द्विपक्षीय लगानी सम्झौता अर्को महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उहाँले यस सम्झौताले नेपाल र बेलायत बिचको विश्वासलाई बलियो बनाउने, लगानीको राम्रो सुरक्षा प्रदान गर्दै र व्यापारको सम्बन्धलाई सहज बनाउने धारणा राख्नु भयो ।
नेपाल सम्भाव्यताले भरिपूर्ण देश भएको उल्लेख गर्दै उहाँले नेपालमा ऊर्जा, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि उत्पादन, पूर्वाधार र स्वास्थ्य सेवा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न बेलायती व्यवसायीहरूलाई आग्रह गर्नु भयो ।
“महासङ्घको पहलमा धेरै नीतिगत सुधार भएका छन् । जसले नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरेको छ । यो अवस्थामा निरन्तर आर्थिक सुधार र बलियो अन्तर्राष्ट्रिय साझेदार बेलायती व्यवसायीशहरुलाई स्वागत गर्न तयार छौँ । बेलायती विशेषज्ञता, प्रविधि र लगानीले नेपालको भविष्यलाई आकार दिन मद्दत गर्नेछ भने व्यवसायीलाई पनि दीर्घकालीन लाभ पनि दिनेछ ।” उहाँले भन्नु भयो ।
महासङ्घको पहलमा १० अर्ब रुपैयाँको पुँजी भएको कम्पनी स्थापना गरी स्थानीय लगानीकर्ताहरूसँग सहजीकरण गरेको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने व्यवसायीहरूका लागि सहजीकरण गर्न महासङ्घ सधैँ तयार रहेको समेत बताउनु भयो ।
बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
