नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ ।
ललितपुर उद्योग वाणिज्य सङ्घको ४५ औँ वार्षिक साधारण सभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– “कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरूजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यति नै बेला फेरि यहाँ पनि श्रीलङ्काको हावा छिराइयो । हामी नेतृत्वमा आए पछिको करिब डेढ वर्ष हामीले यसरी काम गर्यौँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका सङ्केत देखिएका छन् ।”
महासङ्घले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरूको सुरुआत गरेर सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरू देखिएको अध्यक्ष ढकालको दाबी थियो ।
महासङ्घकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो– “पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन । किन आएन भनेर यस पटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरू नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ ओटा कानुन संशोधन पनि भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ ।”
यी कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरूमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– “यसअघि हामीले आर्थिक मुद्दा अर्थात् मुलुकको अर्थतन्त्रका विषयमा एकमत हुन दलहरूलाई पटक पटक आग्रह गरेका थियौँ । त्यसैले मलाई लाग्छ लगानी सम्मेलनकै दिन बिहान एकै पटक आठ ओटा कानुन अध्यादेशबाट ल्याउँदा पनि सबै दलको सहमति थियो, सबैले स्वागत नै गरे । हामीले पहिले पहिले कुनै एक अध्यादेश जारी गर्दा पनि विपक्षी दलहरूले विरोध गरेको देखेकै थियौँ । यसरी महासङ्घको सक्रियता र एड्भोकेसीका कारण देशका सबै शक्ति बिस्तारै एउटै मुद्दामा आएका छन् र लगानीको वातावरण पनि बिस्तारै बन्दै गएको छ ।”
यतिखेर जिल्ला जिल्लामा जाँदा साना व्यवसायीहरूले लौन हाम्रो सानोतिनो पुजी लगानी गर्ने ठाउँ बनाइदिनुपर्यो भन्ने गरेका प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई पनि एकत्रित गरी ठुला लगानीमा लगाउन सक्ने बताउनुभयो ।
यस्तै पुँजीलाई बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्र सबैको सहभागितामा १० अर्ब को नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भइसकेको जानकारी पनि उहाँले दिनुभयो ।
यो कम्पनीमार्फत जहाँ जसलाई काम गर्नका लागि पुँजी पुगेको छैन उसले पनि इक्वीटीका रूपमा प्रयोग गर्न सक्ने तथा देशैभरि छरिएर रहेको पुजीलाई एकत्रित गरी लगानी गर्न सकिने वातावरण यो कम्पनीमार्फत सिर्जना हुने उहाँको भनाई थियो ।
देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासङ्घले गएको डेढ वर्षमा धेरै काम गरेको उदाहरण पेस गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित समय भएकाले लगानी गरी लाभ लिन सबैसँग आग्रह पनि गर्नुभयो ।
महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ: अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
