पहाडकी रानी उपमाले प्रसिद्ध बन्दीपुर जाने प्रवेशद्वार केबलकार चोक बटम स्टेसन परिसरमा दशैंको अवसर पारेर सांस्कृतिक एवं देवी लिला प्रदर्शनी हुने भएको छ । २०८१ असोज १९ गते देखि २४ गते फूलपाती सम्म ६ दिन यस प्रकारको प्रदर्शनी आयोजना गरिएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय सांस्कृतिक प्रस्तुति समेत रहनेछन् । नाम चलेका कलाकारहरूको प्रस्तुति कार्यक्रममा हुने छ र साँझमा भव्य दिव्य भगवतीको आरती सहित बृहत् देवी लिला नाटक मञ्चन गरिनेछ । असत्य माथि महाकाली बनेर दुष्ट राक्षसको अन्त गरेर सत्यको जित गराइएको उत्कृष्ट कथा समेटेको देवीको लिलाको भव्य प्रदर्शनी गरिने भएको छ ।
दशैंलाई विजय दशमी भनेर किन मानिने गर्दछ भन्ने कुराको बयान नाटकले गर्ने छ। २० गते देखि दैनिक ५ घण्टा २४ गते सम्म २५ घण्टा नाटक मञ्चन गरेर दर्शकहरूलाई सांस्कृतिक मनोरञ्जन र सचेतना दिने आयोजकले दाबी गरेको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि केबलकारको टिकट छ भने निःशुल्क हुनेछ । अन्य अवस्थामा रु. १००\- रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । कार्यक्रमको आयोजना बन्दीपुरहिलले गरेको छ भने केबलकार र ड्राईभ ईन रेस्टुरेन्टले प्रवर्धन गरेका छन् ।
कार्यक्रममा आकर्षणहरूको रूपमा मुख्य आकर्षण देवी लिला नाटक ५ दिन, पाँच दिन सांस्कृतिक कन्सर्ट, खाना खाजा प्रदर्शनी, स्थानीय कला एवं सांस्कृतिक प्रदर्शनी, दशैं हाट बजार, वाल उद्यान, बिङ्गो गेम लगायत मनोरञ्जनात्मक कार्यक्रमहरू रहने छन् । यस मेलाको धार्मिक आकर्षण माँ खड्गदेवी मन्दिरको दर्शन गराउनको लागि केबलकारले विशेष सेवा समेत पस्कने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयाे ।