एन आई सी एशिया बैङ्कले केही समयअघि साउदी अरेबियामा सम्पन्न WAFF Women's Championship 2024 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।
२०८१ वैशाख २४ गते ललितपुर स्थित होटेल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैङ्कले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो । बैङ्कले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही रु. २५००० र सम्मान पत्र सहित सम्मान गरेको हो । साथै, उक्त कार्यक्रमका बिच बैङ्कले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरज्यूलाई ब्रान्ड प्रमोटरका रूपमा समेत घोषणा गरेको छ ।
पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिँदै WAFF Women's Championship 2024 को फाइनल सम्म पुगेर उपविजेता बन्न सफल भएको थियो । मैदान र मैदान बाहिर रहेर प्रतियोगिताभर विशेष योगदान गर्ने सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दै अगामी दिनहरूमा पनि यस्तै सफलता प्राप्त होस् भन्ने कामनासहित बैङ्कले शुभकामना व्यक्त गरेको छ । 
 
         
             
     
    
 
     
                                 
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            