तरलता वृद्धि हुनुका साथै कर्जाको माग कम हुँदा निक्षेपको ब्याज दरमा आएको कमीले बैङ्कको कर्जाको ब्याज दर पनि दिन प्रतिदिन घट्दै छ । २०७९ फागुनमा वाणिज्य बैङ्कमा औसत कर्जाको ब्याज दर १३ दशमलव ०३ प्रतिशत पुगेकोमा त्यस पश्चात् भने ब्याज दर निरन्तर घट्दो क्रममा रहेको छ । कर्जाको ब्याज दर घट्न थालेको निरन्तर १० महिना भैसकेकाे छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार २०८० को पुष महिनासम्ममा वाणिज्य बैङ्कको औसत कर्जाको ब्याज दर ११ दशमलव ३८ प्रतिशत रहेको छ भने बैङ्कहरूको बेस रेट सिङ्गल अङ्कमा आएको छ । असोज देखि नै बैङ्कको औसत आधार दर १० प्रतिशत मुनी आएको हो । एक वर्ष अघि करिब ११ प्रतिशत पुगेको बेस रेट अहिले ९ दशमलव ३५ प्रतिशत पुगेको छ ।
बैङ्कहरूले कम ब्याज दरमा निक्षेप उठाउँदा बेस रेट घट्दै जान्छ र त्यसले गर्दा कर्जाको ब्याज पनि घट्दै जान्छ । निक्षेपको ब्याज घट्दै गएको अवस्थामा बैङ्कको बेस रेट र कर्जाको ब्याज अझै घट्ने सम्भावना रहन्छ ।
एक वर्ष अघि साढे ८ प्रतिशतसम्म पुगेको निक्षेपको औसत ब्याज पुष मसान्तसम्म आउँदा ७ दशमलव ३२ प्रतिशत पुगेको छ । अहिले बैङ्कले निकै कम ब्याजमा निक्षेप उठाए पनि एक वर्ष अघि उच्च ब्याज दरमा लिएको मुद्दती निक्षेपहरूले गर्दा एकै पटक ठुलो अङ्कमा ब्याज घट्ने सम्भावना भने देखिँदैन ।
अन्तर बैङ्क ब्याज दर पनि घट्दो क्रममा नै रहेको छ। एक वर्ष भन्दा अघि साढे ८ प्रतिशतसम्म पुगेको अन्तर बैङ्क ब्याज दर अहिले ३ प्रतिशत भन्दा तल कायम भएको छ ।
त्यस्तै ९१ दिनको ट्रेजरी बिल्सको ब्याज दर पनि निरन्तर घट्दो क्रममा रहेको छ । १ वर्ष अघि करिब ११ प्रतिशत पुग्न लागेको ९१ दिनको ट्रेजरी बिल्सको ब्याज दर अहिले ३ दशमलव ३७ प्रतिशत कायम भएको छ ।
घट्दो ब्याज दरले कर्जा लिएका व्यवसायीलाई निकै सजिलो भएको छ भने बैङ्कको मुद्दती निक्षेपमा पैसा राखेर ब्याजको भरमा बसेकाहरू अहिले खासै उत्साहित नभएको पाइएको छ ।
सामान्यतया ब्याज दर घट्दा कर्जाको माग हनु पर्ने हो तर अहिले ब्याज दर घट्दा समेत कर्जाको माग हुन सकेको छैन । युवाको विदेश मोहको कारणले गर्दा अर्थतन्त्रमा माग देखिन छोडेको जानकारहरू बताउँछन् । अर्थतन्त्रमा माग कम हुँदा वैदेशिक व्यापारमा समेत प्रभाव परेको हुँदा वैदेशिक व्यापार पनि घट्दो क्रममा रहेको छ ।
बैङ्कमा कर्जाको ब्याज निरन्तर घट्दै, ऋण लिएकालाई राहत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
