शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क: विगत देखि वर्तमानसम्मको उत्साहजनक यात्रा

शाइन डेभलपमेन्ट बैङ्क लिमिटेड पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल–रुपन्देहीमा २०६५ फागुन ११ गते ३ जिल्ले विकास बैङ्कको रूपमा स्थापित भएको थियो । गुल्मी क्षेत्रको रेसुङ्गा विकास बैङ्कसँग २०६९ चैत ४ गते मर्जर पश्चात् सो विकास बैङ्कले सेवा क्षेत्र १० जिल्लामा विस्तार गरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेड नामबाट कारोबार सञ्चालन गरेको थियो ।

त्यस्तै सो विकास बैङ्कले २०७३ जेठ २९ मा प्युठान जिल्लाको गौमुखी विकास बैङ्कसँग मर्जर सम्पन्न गरेको थियो। २०७६ आश्विन २७ मा भार्गव विकास बैङ्क र पूर्णिमा विकास बैङ्कलाई प्राप्ति गरे पश्चात् सोही वर्षको मङ्सिर १० मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क राष्ट्रिय स्तरको विकास बैङ्कमा स्तरोन्नति भएको थियो। 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडले न्यू बिजनेश एजद्वारा आयोजित सातौँ न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड्समा "बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क २०२२" को उपाधि समेत प्राप्त गरेको थियो ।

नेपालमा सञ्चालित विकास बैङ्कहरू मध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क धेरै सूचकहरूमा उत्साहजनक प्रगति गर्दै आएको छ । ५ वर्ष अघि १६ अर्ब ६५ करोड रहेको बैङ्कको कुल सम्पत्तिको आकार वृद्धि भएर आर्थिक वर्ष २०७८/७९ सम्ममा ५० अर्ब ६७ करोड पुगेको छ । 

बैङ्कको सञ्चालक समिति
हाल बैङ्कको सञ्चालक समितिको अध्यक्षमा थानेश्वर पौडेल हुनुहुन्छ । अटोमोटिभ, शैक्षिक र बैङ्किङ क्षेत्रको अनुभव सँगाल्नु भएका थानेश्वर पौडेल एक सफल व्यवसायी पनि हुनुहुन्छ । 
त्यस्तै अन्य सञ्चालकमा डा. तारा प्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाईँ, वीरेन्द्र विष्ट, नम्रता भण्डारी र गोपाल प्रसाद पाण्डे (स्वतन्त्र सञ्चालक) हुनुहुन्छ । 

बैङ्कको उच्च व्यवस्थापन समूह
बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल हुनुहुन्छ। पौडेल बैङ्किङ समुदायमा एक प्रखर विश्लेषक एवं कुशल नेतृत्वदायी तथा व्यवस्थापकीय क्षमता भएका बैंकरको रूपमा समेत परिचित हुनुहुन्छ। त्यस्तै उच्च व्यवस्थापन समूहमा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल सहित नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु हुनुहुन्छ भने निम्न बैङ्करहरूले विभागीय प्रमुखको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ।

  • सि.ए. यशोधन पाण्डेय, प्रमुख जोखिम तथा अनुपालन अधिकृत
  • भुवन प्रसाद पन्थ, प्रमुख वित्त अधिकृत
  • किरण प्रसाद शर्मा नेपाल, प्रमुख कर्जा अधिकृत
  • लालमणी पन्थी, प्रमुख विजनेस सपोर्ट अधिकृत
  • सन्तोष राज ज्ञवाली, प्रमुख बाह्य मामिला
  • नम्रता थापा, प्रमुख सञ्चालन अधिकृत
  • गोपाल खनाल, प्रमुख कर्जा असुली तथा कानून अधिकृत
  • शैलेश कुमार श्रीवास्तव, प्रमुख प्रविधि अधिकृत
  • प्रवास राई, प्रमुख मानव शंसाधन
  • मित्रमणी पोखरेल, प्रमुख सञ्चालन
  • अर्जुन खड्का, प्रमुख कर्पोरेट कर्जा
  • सि.ए. जगत कुमार महतारा, प्रमुख आन्तरीक लेखापरीक्षण
  • देवी प्रसाद पौडेल, प्रमुख सूचना प्रविधि
  • सि.ए. प्रेम सुवेदी, प्रमुख कर्जा जोखिम
  • दिपक पाण्डे, प्रमुख कर्जा प्रशासन

बैङ्कका ठुला शेयर धनीहरू
आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन अनुसार बैङ्कमा सबै भन्दा धेरै २.२८ प्रतिशत अर्थात् ८ लाख ६२ हजार ९५३ कित्ता शेयर थानेश्वर पौडेलको रहेको छ । त्यस्तै धनेन्द्र कार्कीको १.०३ प्रतिशत अर्थात् ३ लाख ८८ हजार २४२ कित्ता शेयर रहेको छ भने बाल कृष्ण भुसालको ०.९८ प्रतिशत अर्थात् ३ लाख ६८ हजार ८०५ कित्ता शेयर, राजेन्द्र प्रसाद श्रेष्ठको ३ लाख ५२ हजार ९५८ कित्ता शेयर साथै दिलीप राज मास्केको ३ लाख २० हजार ६३१ कित्ता शेयर रहेको छ।

बैङ्कमा संस्थापक शेयरको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण शेयरको शेयर स्वामित्व ४९ प्रतिशत रहेको छ । 

५ वर्ष अघिको बैङ्क र आजको बैङ्क 
५ वर्ष अघि (२०७४/७५) १ अर्ब ३७ करोड चुक्ता पुँजी भएको विकास बैङ्कको चुक्ता पुँजी आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा ३ अर्ब ७८ करोड रहेकोमा १३.३० प्रतिशत बोनश शेयर वितरण पश्चात् ४ अर्ब २८ करोड पुगेको छ ।

५ वर्ष अघि ३२ करोड ६७ लाख खुद नाफा कमाएको बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा ६४ करोड ८७ लाख खुद नाफा कमाएको थियो भने आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमास सम्ममा  राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये नाफा वृद्धि गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क मात्र सफल भएको हो, बैङ्कले नाफा वृद्धि गर्दै ५५ करोड ४५ लाख रुपैयाँ पुर्‍याएको छ । 

चुक्ता पुँजी वृद्धि हुँदा पनि विगत ५ वर्ष देखि बैङ्कले प्रति शेयर किताबी मूल्य अर्थात् प्रति शेयर नेट्वर्थ बढाउन सफल भएको छ । ५ वर्ष अघि १२३ रुपैयाँ ८३ पैसा प्रति शेयर नेट्वर्थ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा १४३ रुपैयाँ १२ पैसा कायम भएको छ ।

५ वर्ष अघि ३६ शाखा सञ्जाल भएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा ८४ शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको छ। त्यस्तै ५ वर्ष अघि सो बैङ्कमा २५८ कर्मचारीहरू कार्यरत थिए भने २०७९ असार मसान्तसम्ममा बैङ्कमा ७२७ कर्मचारीहरू कार्यरत थिए ।

५ वर्ष अघि बैङ्कमा १४ अर्ब ५३ करोड निक्षेप रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ सम्ममा निक्षेप सङ्कलन ४३ अर्ब ४४ करोड माथि पुगेको छ। त्यस्तै सोही अवधिमा कर्जा प्रवाह १२ अर्ब ३३ करोडबाट वृद्धि हुँदै ३८ अर्ब ३ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
16.67%
8.33%
25.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x