लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया

नेपाल बीमा प्राधिकरणको आयोजनामा यही मङ्सिर १९ गते रुपन्देही जिल्लाको बुटवलमा लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

अध्यक्ष सिलवालले स्थानीय तहसँग नियमित रूपमा सम्पर्कमा रही काम गर्न, कानुन, नियम र निर्देशिकाले निषेध गरेका कार्य नगर्न र नागरिकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिनुभयो ।

साथै, उहाँले ग्रामीण क्षेत्रका बासिन्दाका घर घरमा गएर बीमा सेवा दिन, डिजिटल माध्यमबाट व्यवसाय गर्न र स्थानीय आवश्यकताका आधारमा लघुबीमालेख ल्याउन लघु बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू वडा वडामा समेत गर्नुपर्ने, विद्यालयका पाठ्यक्रममा बीमा विषयलाई समेत समावेश गर्नुपर्ने, घर निर्माण गर्दा नै बीमा गर्ने व्यवस्था गर्नुपर्ने, कृषि प्राविधिकको पर्याप्त व्यवस्था गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापा तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रदेश कार्यालय प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x