नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोवार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिनुभएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले बीमालेख नवीकरणमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।
अध्यक्ष सिलवालले भन्नुभयो, “मधेश प्रदेशमा बीमाको पहुँच ८ प्रतिशत मात्र छ । मधेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरु नयाँ ढङ्गले अगाडि बढ्नुपर्यो । योग्य र दक्ष बीमा अभिकर्ताका माध्यमबाट बीमा व्यवसाय गर्नाले बीमाको पहुँच बढ्छ, त्यसतर्फ ध्यान दिनुपर्यो । बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउँछन्, मिटरब्याजीकोमा जानु पर्दैन । तसर्थ, बीमाले मिटरब्याजीलाई निरुत्साहित गर्छ ।” अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख र शाखा प्रमुखहरुले नयाँ बीमालेख र बीमाशुल्कमा मात्र ध्यान दिनु भएन, बीमालेख नवीकरणमा पनि ध्यान दिनुपर्याे । ल्याप्स र सरेण्डरको अवस्था आउन नदिने गरी काम गर्नुपर्यो ।”
अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका समस्याहरुको समाधानका लागि विकल्प सहित आउन आग्रह गर्नुहुँदै सोही अनुरुप समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउन र अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिनुभयो । यसैगरी, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), बीरगञ्जका पदाधिकारीहरुसँग भएको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वित्तीय जोखिमाङ्कनमा सुधार गर्न र व्यवसायिक दक्षताका साथ काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गर्नुभएको थियो । कार्यक्रममा बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयहरुका प्रमुख र कर्मचारीहरु, निप्स, बीरगञ्जका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुसँग अन्तरक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
