आन्तरिक पर्यटकको गन्तव्यमा मनाङ

हेटौँडाका अमृत ताम्राकार दशैं बिदाको समय सदुपयोग गर्न मनाङ भ्रमणमा आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “लामो समयदेखि मनाङ आउने योजना थियो, बल्ल यस वर्ष आउने समय मिल्यो ।”

मनाङ आएर यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको ताम्राकारको भनाइ छ । “हामी धेरै पछाडि छौँ, प्रकृतिसँग खेल्न र प्रकृतिलाई बुझ्न सकेका छैनौँ, यहाँको सुन्दरता छाडेर विदेश घुम्ने योजना बनाउँछौँ, पहिले आफ्नो देशको प्रकृतिलाई बुझ्न सक्नुपर्छ, अनि विदेश भ्रमण गर्ने हो, यहाँ छ असली प्रकृति र संस्कार, संस्कृति, हामीले घुमेर र बुझेर नै प्रवर्द्धन गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

ताम्राकार जस्तै नुवाकोटका हरि तामाङ पनि मनाङको प्राकृतिक सौन्दर्यसँग रमाउन व्यस्त हुनुहुन्छ । “मनाङ बाहेक अरू कुन ठाउँ हुनसक्छ स्वर्ग यही हो, एक पटक आउनै पर्ने ठाउँ नै मनाङ हो, जीवित नै स्वर्ग पुगेको आभास भइरहेको छ”, तामाङले भन्नुभयो । “मरेपछि स्वर्ग पुगिन्छ पुगिँदैन, जिउँदै आएका छौँ, हामी त स्वर्गमा, यस ठाउँमा एक पटक सबै नेपाली आउनुपर्छ, प्रकृतिको असली स्वर्ग घुम्न जरुरी छ”, उहाँले भन्नुभयो ।

चिसो बढ्दै गरेको अवस्था र जोखिम बढी हुने क्षेत्र भएकाले यहाँ आउँदा भने जानकारी लिनु पनि आवश्यक रहेको तामाङको बुझाइ छ । तिलिचो ताल, सकेसम्म थोराङ्ला भन्ज्याङ पुग्ने योजना भएको उहाँले बताउनुभयो । मनाङ विभिन्न ताल तलैया, संस्कार, संस्कृति र परम्परालाई अनुभवसँगै मनाङीको आतिथ्य सत्कारलाई भरपुर रूपमा आनन्द लिइरहेको उहाँले बताउनुभयो । यहाँका बाटोमा आउँदा झरना, विभिन्न ताल तलैयामा भरपुर रूपमा घुम्दै एक हप्ता सकाउने योजना रहेको उहाँको भनाइ छ ।

तामाङले भन्नुभयो, “यहाँ आएपछि त फर्किन नपरोस् जस्तो पो लाग्ने रहेछ, यहाँका प्रकृतिसँग रमाउँदै बस्न पो मन लाग्ने रहेछ ।” यहाँ आएर हिमालको एकदम नजिक पुगे जस्तो भइरहेको छ । बिदाको समय सदुपयोगसँगै नयाँ ठाउँको भ्रमण र प्रवर्द्धनमा टेवा पुग्ने उनीहरूको भनाइ छ । यसले प्रस्ट हुन्छ कि नेपालीमा भ्रमण गर्ने प्रचलन बढेको छ । नेपालीमा बिस्तारै भ्रमण गर्ने योजनासहित नयाँ स्थानको भ्रमण तथा अवलोकन गर्ने प्रचलन बढ्दै गएको छ । बिदाको समयलाई नेपालीले भरपुर सदुपयोग गर्न थालेका छन् ।

यसमा हिन्दुको महापर्व बडादशैं र तिहार यस वर्ष एउटै महिनामा परेको छ । अहिले नेपालीले बिदाको समय पूर्णरुपमा भ्रमणमा सदुपयोग गरिरहेका छन् । दसैँ र तिहार मनाउनका लागि विदेशबाट स्वदेश फर्किएका नेपाली र कलेज, क्याम्पस अध्ययनरत विद्यार्थी लामो बिदाको सदुपयोग गर्दै मनाङ भ्रमणमा निस्कने गरेको पाइन्छ । अहिले नेपालका विभिन्न स्थानबाट हिमाली जिल्ला मनाङ आउने आन्तरिक पर्यटक बढेका छन् ।

दशैं र तिहार बिदामा पर्यटकीय क्षेत्र मनाङको भ्रमणमा आउने बढेको स्थानीय बताउँछन् । विगतको तुलनामा आन्तरिक पर्यटक बढ्नुले नेपालीमा भ्रमण तथा अवलोकनमा निस्कने प्रचलन बढेको नासो गाउँपालिका–१ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो । उहाँका अनुसार दसैँको बिदामा दैनिक रूपमा मनाङ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेको छ । आन्तरिक पर्यटक बढ्दै गर्दा कोभिडका कारण सुस्ताएको व्यवसाय उकासिने अपेक्षासहित व्यवसायीमा खुसी छाएको छ । होटेल व्यवसायी बाबुराम तामाङ भन्नुहुन्छ, “आन्तरिक पर्यटक आगमन हुँदा रात परेको थाहै भएन, काम गर्न भ्याइनभ्याइ छ ।”

दशैंको बिदामा दैनिक रूपमा आन्तरिक पर्यटक एक हजार पाँच सय जति आउने गरेका तामाङले बताउनुभयो । “हामीलाई भ्याइनभ्याइ भएको छ, होटेल तथा पर्यटन व्यवसायीलाई त पर्यटकको स्वागतमा नै व्यस्त हुँदा दसैँ आउँदा खुसी छाएको छ”, उहाँले भन्नुभयो । अहिले मनाङका सबैजसो होटेल भरिभराउ रहेको उहाँले बताउनुभयो ।

आन्तरिक पर्यटकले मनाङलाई गन्तव्य बनाएर आउँदा होटेल तथा पर्यटन व्यवसायीमा बन्द व्यापार चलायमान भएको बताउँछन् । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमनले दुई वर्ष कोभिडले थलिएको व्यापारमा उत्साह थपिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । “यस वर्ष मनाङ पर्यटकीय स्थल हो भनेर आभास भएको छ, नभए दुई वर्ष त सिजनमा पनि सुनसान भएको थियो, यस वर्ष आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आगमन बढेको छ”, उहाँले भन्नुभयो । पर्यटकले वासस्थानको लागि भने आवश्यक जानकारी लिनुपर्ने उहाँको सुझाव छ । चिसो मौसममा होटेल नपाउने समस्या हुनसक्ने अवस्था रहेकाले आवश्यक जानकारी लिएर आउन उहाँको भनाइ छ ।

गुरुङले भन्नुभयो, “विगतमा बाह्य पर्यटकको मात्रै आगमन हुने यस सिजनमा यस वर्ष आन्तरिक पर्यटकको पनि उल्लासमय आगमन भइरहेको छ ।” यसले गर्दा सुस्ताएको व्यापारमा आशा पलाएको उहाँले बताउनुभयो । सिजन भएकाले सबै प्रकारका होटेलमा पर्यटकको रहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने काम नभए पनि उल्लेख्य आगमन भएको उहाँले बताउनुभयो ।

“जुनसुकै होटेलमा कम भए पनि पर्यटक रहेका पाइन्छन्”, गुरुङले भन्नुभयो । हिउँद लाग्ने बेलामा र वर्षा याम सुरुआतको समयमा गरी दुई सिजनमा मनाङ घुम्न अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्दछन् । अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ–आफ्नो गन्तव्यतर्फ जाने गर्दछन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारा हो । पर्यटकले यहाँबाट सुरु गरिएको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँ, पोखरा, चितवन, बुटवललगायतका स्थानदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत मनाङ आउन सकिन्छ । पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x