पर्यटकीय ग्राम बन्दीपुर सम्म पुग्नको लागी सजिलो बनाउन तयार गरिएको बन्दीपुर केवलकार २०८० जेष्ठ ३१ गतेदेखि व्यवसायीक सञ्चालनमा आएकोमा फाल्गुण मसान्तसम्म एक लाख बढी पर्यटक र स्थानीयहरूले केवलकार चढेका छन् । जस मध्य १८ हजार भन्दा बढी विदेशी पर्यटकहरू रहेका छन् । बन्दीपुरहिल गुरुयोजना अन्तर्गतको एक अंश केवलकार र ड्राइभईन ब्राण्डमा रेस्टुरेन्ट मात्र औपचारिक रूपमा सञ्चालनमा आएका थिए । जुन बृहत्तर गुरु योजनाको साढे बाह्र प्रतिशत मात्र हिस्सा रहेको कम्पनीले जनाएको छ । बन्दीपुरहिल गुरुयोजना भित्र पाँचतारे होटेल, कुईन टावर, माइती ईमाङ्ग (मगर खानेकुराको बजार घर) एक हजार सिट क्षमताको सम्मेलन केन्द्र, ९७ मिटर लामो क्यान्टिलिभर, वाक थ्रु, स्काई डेक, मेटल क्लाईमविङ्ग, एज वाक, क्याप्सुल लिफ्ट, भ्युजरुम, स्काई रेस्टुरेन्ट, फ्लाई डाईनीङ्ग, सोप स्विङ्ग, मेकानिकल स्विङ्ग, २८ सय मिटर लामो “मेगाट्रेल जिपलाईन” ११०० मिटर लामो बन्दीपुर सिद्ध गुफा, चियरलिफ्ट, स्काई साईक्लिंग, रोप जम्प, बन्जी जम्प, डिपार्टमेन्टल रेस्टुरेन्ट, १०८ फिटको आदि योगी शिवत्व पार्क, स्वयम्भूनाथ पार्क, स्विमिङ पुल, हेल्थ क्लब, किड्स जोन, धार्मिक पार्क र जङ्गली म्युजियम लगायतका मनोरञ्जनात्मक पूर्वाधारहरू रहेका छन् ।
बन्दीपुरहिल गुरुयोजनाको जम्मा लागत ६ अर्ब २९ करोड अनुमान गरिएको कम्पनीले जनाएको छ । आगामी २०८३ साल भित्र सबै पूर्वाधार निर्माण भइसकी औपचारिक रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीका महाप्रबन्धक श्री रोमनमान श्रेष्ठले बताउनु भएको छ । बन्दीपुरको समग्र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डीङ्ग गर्ने र यस क्षेत्रमा बाहय लगानी भित्र्याउने गरी योजनाले भरपुर मद्दत गर्न सक्ने देखेर यो स्तरको तयारी गरी लगानी गरिएको कम्पनीका अध्यक्ष श्री रामचन्द्र शर्माले बताउनु भएको छ ।
बन्दीपुर घुम्न जाने पर्यटकहरूको लागी एक पटक जसरी पनि घुम्नै पर्ने गरी मनमोहक रूपमा तयार गरिएको बटम स्टेसनलाई इङ्गित गर्दै पर्यटकहरूले मज्जा लिएको यहाँ आएका पर्यटकले बताए । बन्दीपुर जाँदै हुनुहुन्छ भने एक पटक यसको मज्जा लिन सक्नु हुनेछ, सबै जनालाई सेवा उपयोग गरिदिन सहयोग गर्ने कम्पनीले आमन्त्रण गरेको हस्पिटालिटी महाप्रबन्धक श्री राजेश फुंयालले बताउनु भयो । उहाँले बन्दीपुरको स्थानीय समुदायको स्वाद पस्कने गरी वैशाख १ गतेदेखि मगर संस्कृति र खानेकुराहरूको बजार बनाउने गरी “माइती ईमाङ्ग” सञ्चालनमा आउने भएकोले यसको सेवा लिन समेत सकिने जानकारी दिनुभयो ।
बन्दीपुरहिल अन्तर्गत बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, बन्दीपुर स्काईवाक एण्ड रिक्रिएसन प्रा. लि. बन्दीपुर बैंक्वेट एण्ड इभेन्ट्स प्रा. लि. र सिद्ध गुफा रोपवेज प्रा. लि. सहितका कम्पनीहरू संलग्न रहेका छन् ।