नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्द्धनका लागि लगानीकर्ताहरू तयार रहेकोले सहजीकरण गर्न प्रदेश तथा स्थानीय सरकारहरूलाई आग्रह गर्नुभएको छ । पाल्पाको तानसेनमा आज पाल्पा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय सेवा तथा उत्पादनका क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार र स्थानीय सरकारहरूबाट नीतिगत सहजीकरण हुनु पर्ने बताउनुभयो भयो ।
पाल्पाको वसन्तपुरमा केबलकार सहितको रिसोर्ट केही हप्तामै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै अन्य पर्यटकीय पूर्वाधारमा समेत लगानीका इच्छुक रहेको भन्दै अध्यक्ष ढकालले नगर तथा जिल्ला उद्योग वाणिज्य सङ्घ र स्थानीय सरकारको समन्वयका लागि समेत आग्रह गर्नुभयो ।
सोही अवसरमा अध्यक्ष ढकालले महासङ्घले पाँच वटा प्राथमिकता अघि सारेको उल्लेख गर्दै यसबाट अर्थतन्त्रको विकास तथा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन सहयोग पुग्ने पनि उल्लेख गर्नुभयो । पहिलो अर्थतन्त्रमा देखिएको सङ्कटको समाधानको रणनीति बनाउन नेपाल सरकार, राष्ट्र बैङ्क तथा अन्य नियामक निकायहरूसँग महासङ्घले नजिकबाट सहकार्य गरिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
यसै गरी, आन्तरिक वा विदेशी लगानी प्रवर्द्धनमा सरकारले वातावरण बनाउनु पर्नेमा पनि अध्यक्ष ढकालले जोड दिनुभयो । सरकार र निजी क्षेत्रले एक अर्कालाई आक्षेप लगाउने भन्दा लगानीको वातावरण बनाउन एक अर्कामा विश्वासको वातावरण बनाएर साझेदारी गर्ने कुरालाई महासङ्घले प्राथमिकतामा राखेको अध्यक्ष ढकालले बताउनुभयो ।
दक्ष जनशक्ति उत्पादनलाई पनि महत्त्वका साथ उठाएको अध्यक्ष ढकालले बताउनुभयो । हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने ५ लाख भन्दा बढी युवाहरूलाई आन्तरिक र बाह्य रोजगारीमा जानु अघि दक्ष बनाउन जरुरी छ । यसले हाम्रा उद्योगमा रहेको दक्ष जनशक्तिको अभाव पुरा गर्नेछ भने वैदेशिक रोजगारीमा दक्ष जनशक्ति जाँदा उनीहरूको आम्दानी पनि धेरै गुणा बढाउन सकिने भएकाले सरकार, दातृ समुदाय तथा अन्य सरोकारवालासँग मिलेर महासङ्घले यसतर्फ काम अघि बढाउन लागेको अध्यक्ष ढकालले बताउनुभयो ।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउने विषयलाई पनि महासङ्घले महत्त्वका साथ उठाएको बताउनुभयो ।
उहाँले अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउने गरी प्रोटोकल निर्धारणमा सरकारको सहयोग हुनेमा विश्वस्त रहेको पनि उल्लेख गर्नुभयो ।
स्थानीय सेवा र उत्पादनको प्रवर्द्धनमा सघाउन प्रदेश तथा स्थानीय सरकारसँग महासङ्घ अध्यक्ष ढकालको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
