राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् कार्यकारिणी समितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो – “यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्र बिच पारस्परिक सहअस्तित्व र सम भावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।”
नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राख्नुभयो ।
राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको स्पष्ट पार्नुभयो । “रोजगारी सृजना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामञ्जस्य नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेलाबेलामा विधान बाधा देखा पर्ने गरेका छन् । यसैले गर्दा मूल्य वृद्धि लगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी सार्वजनिक साझेदारी वाञ्छनीय छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।
उहाँले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले भन्नुभयो – “धेरै राजनीतिको तानावान्मा नअल्झीकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु ।” राष्ट्रपति पौडेलले महासङ्घसँग पहिले नै भेट्न चाहेकोमा हाल स्वास्थ्य सुधार भएकाले भेट केही ढिला सम्भव भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचकहरू सकारात्मक रहे पनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।
भेटका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैङ्क र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।
सरकारले पुँजीगत खर्च गर्न नसकेको र बैङ्क वित्तीय संस्थाहरूबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको छ । यस्तो अवस्थामा पुँजीको लागत कम गरी लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको धारणा अध्यक्ष ढकालको थियो ।
व्यवसाय शत प्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ । तर व्यवसाय दुई तिहाइ खुम्चिदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजश्व सङ्कलन भएको छ । यससँगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत बिन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पुँजीको लागत घटाइ बजारमा रकम प्रवाह गर्नुपर्ने धारणा अध्यक्ष ढकालको थियो ।
यसै गरी, अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन गर्न, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवर्द्धन विशेष पहल आवश्यक रहेको बताउनुभयो।
राष्ट्रपति पौडेल र महासङ्घ कार्यकारिणी समिति बिच भेटघाट, आम नागरिक र व्यवसायीको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन सरकार, केन्द्रीय बैङ्क र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्छ, अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
