अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई थप गति दिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अर्थतन्त्रलाई लयमा अगाडि बढाउन र निजी क्षेत्रलाई विश्वासको वातावरण बनाउन बजेटले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको लय पकड्ने छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “अर्थतन्त्रका सबै क्षेत्रलाई सँगसँगै अगाडि बढाएर देशको अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको सोच छ ।”
उहाँले सरकारी र सार्वजनिक क्षेत्रको गुणस्तरीय पूर्वाधार निर्माण गर्न निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकता दिएको बताउनुभयो । “निजी क्षेत्रलाई निरुत्साहित गरेर पुँजी निर्माण गर्न सकिँदैन, उत्पादन वृद्धि हुन सक्दैन र रोजगारी सिर्जना गर्न सकिँदैन भन्ने हाम्रो बुझाइ छ । सोही अनुरूप विश्वासको वातावरण बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिपरेको छ”, अर्थमन्त्री पुनले भन्नुभयो ।
प्रदेश र स्थानीय तहमा जाने बजेट वृद्धि भएको उहाँको भनाइ छ । उहाँले चालु आवको विनियोजन विधेयकमा जति राजस्व उठ्छ त्यही अनुपातमा प्रदेश र स्थानीय तहमा अनुदान पठाउने र सोहीअनुरूप वित्तीय हस्तान्तरण गर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले जुम्लाको सिञ्जा सभ्यता र कर्णालीको पर्यटन विकासका लागि बजेट व्यवस्था गरिने बताउनुभयो ।सुर्खेत विमानस्थल पनि विस्तार हुने उहाँले जानकारी दिनुभयो ।
बजेटले अर्थतन्त्रलाई थप गति दिन्छ : अर्थमन्त्री पुन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
