नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आफ्नो जन्मभूमिमा भव्य सम्मान गरिएको छ । बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा आज उहाँलाई सो वडासहित आफ्नो जन्म गाउँका तर्फबाट स्थानीयले भव्य रूपमा स्वागत तथा सम्मान प्रदान गरेका थिए ।
वडा कार्यालयको आयोजनामा आयोजित स्वागत कार्यक्रममा आज यहाँका ठुलो सङ्ख्याका स्थानीयहरू उपस्थित रहेका थिए । महासङ्घको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक जन्म गाउँ आउनुभएका ढकाललाई स्थानीयले बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए ।
उहाँलाई गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठक, वडा नं १२ का वडा अध्यक्ष कोपिलामणि शर्मा, सो वडाका पूर्व अध्यक्ष गुरुदत्त पाठक लगायतका विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले दोसल्ला, खादा तथा फुल मालाले सम्मान प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा महासङ्घका उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
नेपालका एक सफल उद्यमी ढकाल बागलुङको अमलाचौरमा जन्मिनुभएको हो । सोही ठाउँको पृथ्वी हिरण्य माध्यमिक विद्यामा प्रारम्भिक अध्ययन गर्नुभएका ढकालले उक्त विद्यालयमा रु ६ करोड भन्दा बढी निजी खर्चमा विद्यालय भवनलगायतका संरचना निर्माण गर्नुभएको छ । सो विद्यालय भवनको केही वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा निकै भावुक भएका ढकालले आफूलाई नेपाल उद्योग वाणिज्य महासङ्घजस्तो यो देशका समग्र उद्योगी व्यवसायीहरूको छाता संस्थाको अध्यक्ष बन्ने प्रेरणा दिने आफ्नो जन्मस्थलको माटोको भार कहिल्यै नबिर्सने बताउनुभयो । उहाँले आफू विश्वको जुनसुकै कुनामा पुगे पनि सदैव अमलाचौरकै माटोको माया लाग्ने बताउँदै यो माटोका लागि आफूले आफ्नो जीवनमा सकेको कर्म गर्ने प्रण गर्नुभयो ।
सो सम्मान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले चन्द्रप्रसाद ढकाल अमलाचौरको मात्र नभएर देशकै एक राष्ट्रिय एवं सफल व्यक्तित्व रहेको चर्चा गर्दै यस्ता व्यक्तित्वलाई आफ्नो जन्मस्थलमा पाउनु हामी अमलाचौरबासीकै अहोभाग्य हो भन्नुभयो । त्यस अवसरमा उहाँले आफ्नो जन्मभूमि सम्झिएर यस स्थानमा विकासका कार्यहरू गर्न ढकाललाई आग्रह पनि गर्नुभएको थियो ।
बागलुङ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष कोपिलामणि शर्मा र पूर्व अध्यक्ष गुरुदत्त पाठकले अमलाचौरको पहिचानलाई देश तथा विदेशमा चिनाउन महत्त्वपूर्ण योगदान गरेकामा अध्यक्ष ढकाललाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । त्यस अवसरमा उपस्थित समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले ढकाल नेपालको उद्योग व्यवसाय क्षेत्रको नेतृत्वमा पुग्नु अमलाचौर र बागलुङ जिल्लाको मात्र नभएर समग्र पश्चिम नेपालकै गौरवको विषय हो भन्नुभयो।
त्यस कार्यक्रममा ढकालले पृथ्वी हिरण्य माध्यमिक विद्यालय परिसरमा राखिएको उहाँका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको सालिकमा माल्यार्पण गर्नुभएको थियो । विद्यालयको भौतिक संरचनामा अध्यक्ष ढकालले योगदान गरेसँगै विद्यालय परिसरमा समाजसेवी स्वर्गीय हिरण्यप्रसाद ढकालको सालिक राखिएको छ ।
महासङ्घका अध्यक्ष ढकाललाई जन्म गाउँमा भव्य सम्मान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
