नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि बीमा कम्पनीहरू नवीनतम प्रविधि र दूरगामी सोचका साथ सकारात्मक रूपले अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित नववर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणको मात्र नभई बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैको साझा प्रयास हुनुपर्छ, बीमा कम्पनीहरू बीमाप्रतिको विश्वास बढ्ने गरी जिम्मेवारी बोधका साथ अगाडि बढ्नुपर्छ, आम नागरिकमा बीमाको पहुँच पुर्याउने एक मात्र लक्ष्यका साथ काम गर्नुपर्छ ।”
बीमा क्षेत्रमा प्राप्त उपलब्धिहरूलाई दिगो बनाउने गरी स्वच्छ प्रतिस्पर्धाका साथ बीमा कम्पनीहरू अघि बढ्नुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरूले बीमाका फाइदाका बारेमा आम जनतालाई बुझाउन सक्नुपर्यो, पुँजीको सही परिचालन गर्नुपर्यो, सर्वसाधारणले बुझ्ने गरी बीमालेख ल्याउनुपर्यो, शाखा तथा उपशाखा कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्यो, बजार अनुसन्धानमा लगानी गर्नुपर्यो, नागरिकले खोजेको परिवर्तन अनुसार अगाडि बढ्नुपर्यो ।”
अध्यक्ष सिलवालले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्नुपर्ने बीमा सम्बन्धी विषयहरूका बारेमा सुझाव दिन आग्रह गर्नुहुँदै प्राप्त सुझावहरू अर्थ मन्त्रालयमा बुझाइने जानकारी दिनुभयो ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्ला वर्षहरूमा बीमाको पहुँच उल्लेख्य रूपले बढ्दै गएर ४४ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा बीमाको पहुँच पुगेको उल्लेख गर्नुहुँदै बीमा कम्पनीहरूले आम नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
नववर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
