एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले यही चैत्र २० गते (आज) सत्रौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि महालेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने रकम रु. १३ करोड २६ लाख ६१ हजार ४३६ रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३१५८ प्रतिशतका दरले हुन आउने रकम रु. ६९ लाख ८२ हजार १८१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव समेत पारित गर्ने छ ।
त्यस्तै, बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अङ्कलाई सम्बन्धित शेयरधनीकाे नाममा पछि समायोजन गर्ने गरी यथावत् राख्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।