सिद्धार्थ बैङ्कद्वारा भूकम्पपीडित विद्यालय भवन पुनर्निर्माणको शिलान्यास

सिद्धार्थ बैङ्क लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिम स्थित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ । २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एक भवनको पुनर्निर्माण कार्य बैङ्कको सहयोगद्वारा बन्न लागेको हो । कुल १७५ जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन सञ्चालन भइरहेको छ ।

शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सोही गाउँपालिका–वडा नं.१ का वडा अध्यक्ष टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक सङ्घको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैङ्क लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत अन्य शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार बैङ्कले सधैँ बालबालिकाको उचित र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको छ । आजका बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार हुन् त्यसैले उनीहरूलाई सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्त्वपूर्ण पाइला हो । यस दृष्टिकोणलाई आत्मसात् गर्दै, बैङ्कले प्रारम्भिक शिक्षा मात्र नभई, उच्च शिक्षामा समेत दीर्घकालीन प्रभाव पर्ने सहयोग गर्दै आइरहेको छ । दक्ष, जिम्मेवार र योग्य नागरिक उत्पादनका लागि उच्च शिक्षामा केन्द्रित प्रयास अत्यावश्यक भएकाले बैङ्क यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दछ ।

बैङ्कले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्‍याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैङ्कको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x