जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ ।
सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । यो अघिल्लो आर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व सङ्कलन भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारबाही गरी रु एक करोड १६ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो ।
यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भीर घाइते भएका छन् ।
ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
मकवानपुर ट्राफिकको सक्रियता: राजस्वमा सुधार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
