म्याग्दीमा यस वर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अनुकूल मौसम, रोगकारीको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । गत वर्ष म्याग्दीमा तीन हजार दुई सय ५० मेट्रिक टन कोदो र ११ हजार नौ सय २९ दशमलव ३३ मेट्रिक टन धान उत्पादन भएको थियो ।
केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले यस वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व तीन दशमलव दुई र कोदोको उत्पादकत्व एक दशमलव दुई मेट्रिक टन भएको जानकारी दिनुभयो । तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा १२ हजार चार सय ४८ मेट्रिक टन धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय मेट्रिक टन कोदो उत्पादन भएको उहाँको भनाइ छ ।
“जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ”, आचार्यले भन्नुभयो, “धान र कोदो दुवैको उत्पादकत्व बढेको छ ।” यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती गर्ने गरिएको छ ।
लेकाली क्षेत्रका किसानले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ । कोदो भने स्थानीय जातको खेती हुने गर्छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुन्छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्जन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भुरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ ।
यी क्षेत्र धान उत्पादनका हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने भमर हजार तीन सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।
धान र कोदो उत्पादन बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
