सङ्घीय सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्य नजिकिँदै जाँदा पनि पुँजीगत खर्चको अवस्था अत्यन्तै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको हालै प्रकाशित विवरण अनुसार, वैशाख मसान्तसम्म सरकारले विनियोजित पुँजीगत बजेटमध्ये जम्मा ३४.१६ प्रतिशत मात्रै खर्च गरेको छ।
चालु वर्षमा सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ छुट्टाएको थियो। तर हालसम्म एक खर्ब २० अर्ब ३७ करोड रुपैयाँ मात्र खर्च भएको हो। विकास पूर्वाधारका लागि महत्त्वपूर्ण मानिने पुँजीगत खर्चमा यस्तो न्यून प्रगति अर्थतन्त्रको समग्र गतिमा नकारात्मक असर पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।
यता, चालु खर्चको दर भने तुलनात्मक रूपमा उच्च देखिएको छ। ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरिएकोमा सात खर्ब ७३ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन ६७.७९ प्रतिशत हो। वित्तीय व्यवस्थाका लागि छुट्टाइएको तीन खर्ब ६७ अर्ब २८ करोडमध्ये दुई खर्ब ६४ अर्ब २८ करोड खर्च भइसकेको छ र यो खर्च दर ७१.९६ प्रतिशत रहेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु वर्षको पहिलो दश महिनामा सरकारको कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जुन कुल बजेटको ६२.२४ प्रतिशत मात्र हो। सरकारले चालु वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो।
तर आम्दानीतर्फ सरकार अझै लक्ष्यभन्दा धेरै पछाडि देखिएको छ। वैशाख मसान्तसम्म कुल राजस्व सङ्कलन नौ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ मात्र भएको छ, जुन १४ खर्ब ७१ अर्ब ६२ करोडको वार्षिक लक्ष्यको ६४.५४ प्रतिशत हो। सरकारको आम्दानीभन्दा खर्च २ खर्ब ८ अर्ब १३ करोड रुपैयाँले बढी रहेको छ।
विदेशी अनुदान सङ्कलनमा पनि लक्ष्यअनुसार प्रगति हुन सकेको छैन। चालु आवमा ५२ अर्ब ३२ करोड रुपैयाँको अनुदान सङ्कलन लक्ष्य राखिएकोमा वैशाख मसान्तसम्म जम्मा १६ अर्ब ११ करोड ८९ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ जुन लक्ष्यको ३०.८ प्रतिशत मात्र हो।
कर राजस्व सङ्कलनतर्फ पनि सरकार पछाडि देखिएको छ। १२ खर्ब ८४ अर्ब २० करोडको लक्ष्य राखिए पनि हालसम्म आठ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ सङ्कलन भएको छ। गैर कर राजस्वमा पनि एक खर्ब ३५ अर्ब ९ करोडको लक्ष्यमध्ये ९३ अर्ब ४९ करोड रुपैयाँ मात्रै सङ्कलन भएको छ।
विशेषज्ञहरू भन्छन् – राजस्व सङ्कलनमा कमजोरी र पुँजीगत खर्चमा ढिलाइले आर्थिक स्थायित्व र विकासका लक्ष्यमा गम्भीर असर परेको छ। सरकारलाई कार्यान्वयन क्षमतामा सुधार ल्याउँदै स्रोत परिचालनमा प्रभावकारी रणनीति अपनाउन सुझाव दिएको छ।
विकास खर्च लक्ष्यभन्दा टाढा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
