चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आ.व. २०८१/८२ को साउनदेखि मङ्सिर सम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आ.व. २०८१/८२ को पाँच महिनाको अवधिमा कूल बजेटको ११ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ ।
चालु आ.व.का लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा पाँच महिनामा सात अर्ब ३७ करोड १९ लाख २५ हजार बजेट खर्च भएको उहाँले बताउनुभयो । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उहाँको भनाइ छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६ दशमलव २२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले दुई दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।
आ.व.को पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र कात्तिकदेखि मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।
बागमती प्रदेशको खर्च ५ महिनामा मात्र १२ प्रतिशत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
