नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैङ्कले शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने बताउनुभएको छ ।
सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरू मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने सङ्केत गर्नुभयो ।
“नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षामा बैङ्क दर, नीतिगत दर, कर्जाको पुन संरचना र घर तथा शेयर कर्जामा लचकता अपनाएको देखिन्छ । यी विषयहरू हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ । राष्ट्र बैङ्कले अहिले आएर यसको सुनुवाइ गरेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवर्द्धन गर्न सहयोग गर्न सक्छ,” उहाँले भन्नुभयो ।
अहिले राष्ट्र बैङ्कले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्थापित हुन नपर्ने अध्यक्ष ढकालले बताउनुभयो ।
“निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घले विगत लामो समयदेखि पटक पटक नेपाल राष्ट्र बैङ्कलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौ । अहिले आएर हाम्रा मागको सम्बोधन भएको छ । ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के कति सहयोग गर्छ । त्यो हेर्न बाँकी नै छ । अहिले राष्ट्र बैङ्कले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्थापित हुन पर्दैनथ्यो । तर, यसले केही न केही सकारात्मक सन्देश चाहिँ दिनेछ भन्ने हाम्रो अपेक्षा छ,” उहाँले भन्नुभयो ।
राज्यका निकायबिच समन्वयको अभावमा लगानीको वातावरण बन्न सकेन, अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएको र त्यसलाई प्रधानमन्त्री आफैले सकारात्मकरुपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको बताउनुभयो ।
“राज्यका सबै निकायले राम्रो काम गरिरहेको बताइरहँदा पनि अर्थतन्त्र बिग्रँदै गएको अवस्था थियो । हामी निजी क्षेत्रले यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीज्यूलाई आग्रह गर्यौ । उहाँले सर्वपक्षीय छलफलको आयोजना गरी संवाद परिषद्लाई सक्रिय बनाउनुभयो । यसले निजी क्षेत्र र राज्यका निकायबिच समन्वय र सहकार्य सहज हुने अपेक्षा गरेका छौ,” उहाँले भन्नुभयो ।
उहाँले निजी क्षेत्र मुलुकभित्र लगानीको वातावरण बनाउन र लगानी प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
निजी क्षेत्रले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको भारत, चीन तथा युएई भ्रमणका अवसरमा लगानी सम्मेलनहरूको आयोजना गरेको बताउँदै उहाँले यस सुदूरपश्चिम प्रदेशमा यही फागुन महिनामा आयोजना हुने लगानी तथा विकास सम्मेलनले यस क्षेत्रको विकास र समृद्धिमा नयाँ खुड्किलो बन्ने बताउनुभयो ।
मुलुकको अर्थतन्त्रप्रति प्रधानमन्त्रीज्यूले देखाएको चासो र लिएको अग्रसरताको प्रशंसा गर्दै अध्यक्ष ढकालले सरकारी प्रक्रियाको कारण धेरै आयोजना रोकिने गरेको र त्यसलाई छिटोछरितो गराउने व्यवस्था मिलाउन समेत आग्रह गर्नुभयो ।
सरकारी प्रक्रियाको कारण धेरै आयोजनाहरू समस्यामा पर्ने गरेका छन् । त्यस्ता समस्यामा परेका आयोजनाहरूलाई अगाडि बढाउन सकियो भने लडाउन सकिन्छ । म आफैले पनि यस प्रदेशमा करिब ५ अर्ब रुपैयाँ लगानीको प्रस्ताव अगाडि बढाएको छु । यदि सरकारी प्रक्रियालाई समयमै टुङ्ग्याउन सकियो भने आगामी फागुनमा आयोजना हुने लगानी तथा विकास सम्मेलनदेखि त्यो आयोजना सुरु गर्न सकिन्छ, उहाँले भन्नुभयो ।
अर्थतन्त्र लयमा ल्याउन मौद्रिक नीतिको समीक्षाबाट सहयोग पुग्ने अपेक्षा छ, अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
