ज्योति विकास बैङ्क लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैङ्कले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिस्ट्रारको कार्यालयले मिति २०८१ सालको श्रावण १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो।
बैङ्कले कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरू लगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैङ्कका पदाधिकारीहरूको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय Radiant InfoTech Nepal Pvt. Ltd. बाट उक्त डिजिटल हस्ताक्षर लिएको हो ।
डिजिटल हस्ताक्षर प्रणाली सुचारु भए पश्चात् कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुनेछ। साथै भौतिक रूपमा उपस्थित भई कागजात पेस गर्नुपर्ने बाध्यता हट्नेछ। यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य बोकेको बैङ्कले जनाएको छ।
डिजिटलाइजेसन र डिजिटल बैङ्किङ सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैङ्कले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैङ्किङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ। बैङ्कले डिजिटल बैङ्किङ प्रवर्द्धनसँगै समग्र बैङ्किङ सूचना प्रणालीको सुरक्षा, सरलता, र सुदृढता थप बढाउन Hyperconverged Infrastructure (HCI) मा आधारित अत्याधुनिक सर्वर प्रणालीलाई लागू गरेको छ। हालै, बैङ्कले डिजिटल बैङ्किङ अनुभवलाई अझ प्रभावकारी बनाउनको लागि नयाँ, परिष्कृत, र प्रयोगकर्तामैत्री आधिकारिक वेबसाइट पनि सुचारु गरेको छ।
बैङ्कले Video Banking मार्फत अनलाइनबाट खाता खोल्ने व्यवस्थाका साथै डिजिटल बैङ्किङलाई थप सरल र विश्वसनीय बनाउने उद्देश्यले विकास बैङ्कहरूमा पहिलो पटक QR कोड मार्फत भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त गर्न सकिने “QR Audio Box” प्रविधि, डेबिट कार्ड बिना नै मोबाइल बैङ्किङ एप मार्फत एटिएमबाट पैसा झिक्न सकिने Cardless Cash Withdrawal सेवा, एपबाटै मुद्दती खाता खोल्न सकिने सुविधा, विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री र सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने प्रिपेड डलर कार्ड सेवा, र चेक बुक बिना नै मोबाइल बैङ्किङ एप मार्फत QR कोड स्क्यान गरेर रकम झिक्न सकिने Scan & Withdraw सेवा लागू गरेको छ। साथै, बैङ्कले देशका विभिन्न स्थानहरूमा व्यवसायीहरूलाई प्रदान गरिरहेको नि:शुल्क QR कोड सेवाले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्दै, डिजिटल बैङ्किङलाई थप प्रवर्द्धन गर्दै देशभर डिजिटल भुक्तानी सेवाको विस्तारमा योगदान पुर्याइरहेको छ।
ज्योति विकास बैङ्कद्वारा "डिजिटल हस्ताक्षर" प्रयोगको सुरुवात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
