राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैङ्कको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्थाबमोजिम खनाललाई बैङ्कको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।
पदभार ग्रहणका अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैङ्क तथा बैङ्कले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने जानकारी दिनुभयो ।
चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैङ्कको कामु प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । विसं २०६४ मा चार्टर्ड एकाउन्टेन्टको रूपमा प्रवेश गर्नुभएका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी तहको अध्ययन पूरा गर्नुभएको छ । यसअघि रिक्त रहेको बैङ्कको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्नका लागि बैङ्कले गत वैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो । कार्यक्रममा बैङ्कको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त हुनुभएका खनाललाई बैङ्क सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैङ्कमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरूबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । उक्त कार्यक्रम कम्पनी सचिव हेमराज खरेलले सञ्चालन गर्नुभएको थियो ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
