सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रलाई सुदृढ बनाउने महत्त्वपूर्ण कदमको रूपमा धनगढीमा कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरू सँगको परामर्श कार्यक्रम बुधवार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्रको आयोजनामा केन्द्रका अध्यक्ष डिबि बस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
आफ्नो सम्बोधनमा मन्त्री थापाले कृषि क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर यस किसिमको महत्त्वपूर्ण परामर्शको आयोजना गरेकोमा कृषि उद्यम केन्द्रको प्रशंसा गर्दै स्थानीय स्तरमा उत्पादित कृषि उत्पादनहरूको प्रवर्धन गर्न उत्पादक कृषकका साथै लघु, साना तथा मझौला उद्यमीहरू समेतलाई सहयोग गरी सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यो प्रदेशभित्र कृषि व्यवसायमा संलग्न व्यवसायीहरूको वर्तमान अवस्था मूल्याङ्कन गर्ने, उनीहरूका लागि सहयोगी नीतिहरूको लेखाजोखा गर्ने, कृषि उद्यम केन्द्रद्वारा सञ्चालित लघु, साना तथा मझौला उद्यमी सहयोग कार्यक्रममा संलग्न उद्यमीहरू बाट सफलताका कथाहरू साझा गर्ने र आवश्यक नीति तर्जुमाको सिफारिस गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको यो कार्यक्रमका निष्कर्षहरूले स्थानीय, प्रादेशिक र सङ्घीय स्तरका नीति निर्माताहरूलाई सुझाव पेस गर्ने छ ।
कार्यक्रममा कृषि उद्यम केन्द्र बोर्ड सदस्य सुनिता न्हेमाफुकीले प्यानल छलफल सञ्चालन गर्नु भएको थियो, जसमा प्रदेश नीति तथा योजना आयोगका सदस्य माननीय प्राध्यापक डा. जगतबहादुर सिंह रावल, प्रदेश कृषि निर्देशनालयबाट खगेन्द्र शर्मा; सुदूरपश्चिम महासङ्घ उपाध्यक्ष अनिल कुमार, प्रदेश सहकारी सङ्घका माधव शर्मा र असल सिर्जना कृषि सहकारी, लम्कीका कृष्णा घर्ती प्यानालिष्टको रूपमा राखी उद्यमीहरूको वर्तमान अवस्था, सम्भावना एवं चुनौतीका बारेमा छलफल गरिएको थ्यो ।
कृषि उद्यम केन्द्रका अध्यक्ष बस्नेतले कृषिमा आबद्ध व्यवसायीहरूको अधिकार सुनिश्चित गर्न र नेपालभर कृषि व्यवसायीकरणलाई प्रवर्द्धन गर्न केन्द्रको निरन्तर प्रयास रहेको जानकारी दिनुभयो । बस्नेतले स्थानीय उत्पादक र व्यापारीहरूलाई बजारको अवस्था अनुकूल नभएसम्म आफ्नो सामान भण्डारण गर्न सातै प्रदेशका उत्पादन स्तरमा ठुला गोदामहरूको आवश्यकता रहेको बारे प्रकाश पार्दै गोदाम निर्माण र सञ्चालनमा सरकारको ध्यानाकर्षण गराउनु भयो । बस्नेतले स्थानीय व्यवसायी मिलेर बनेको कम्पनीमार्फत कृषि व्यवसायीकरणको नमुना प्रारम्भ गर्न नेपाल उद्योग वाणिज्य महासङ्घलाई कम्तीमा ५० हेक्टर जग्गा एकै ठाउँमा उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
समिटबाट डा. नारायण खनाल र सिचन श्रेष्ठ, सफल पार्टनर्सका आशुतोष तिवारी र कृषि उद्यम केन्द्रका डिल्ली पौडेलले व्यवसाय प्रवर्धनका विविध विषयमा प्रस्तुति गरेका साथै कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिनेश लम्सालले भारतको मकैको व्यावसायिक क्षेत्रको भ्रमणबाट आएका आफ्ना अनुभवहरू सुनाउनुभयो । कार्यक्रम कृषि उद्यम केन्द्रका का.मु. प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशीले सञ्चालन गर्नु भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायमा आबद्ध उद्यमीलाई बढवा दिने, कृषि विकासलाई प्रोत्साहन गर्ने र स्थानीय उद्यमीहरूलाई अनुकूलनको अवस्था सिर्जना गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रम सिमिटको सहयोगमा सेप्टेम्बर २०२३ देखि नोभेम्बर २०२४ सम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ६ वटा तराई जिल्लामा सञ्चालित रहेको छ । केन्द्रले यस्तै किसिमको कार्यक्रम श्रावण २१ गते लुम्बिनी प्रदेशको नेपालगन्जमा सञ्चालन गरेको थियो ।
कृषिमा आधारित उद्यमीहरूको सुदूरपश्चिम प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
