विश्व बैङ्क र एसियाली विकास बैङ्कको लगानीमा नेपालमा सञ्चालित परियोजनाको समीक्षासम्बन्धी त्रिपक्षीय ‘पोर्टफोलियो’ समीक्षा बैठक अर्थ मन्त्रालयमा बसेको छ ।
बैठकमा दुवै बैङ्कद्वारा लगानी गरिएका आयोजनाको प्रगतिको अवस्थाबारे समीक्षा भएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ । नेपालमा विश्व बैङ्कको करिब दुई अर्ब ३० करोड अमेरिकी डलर बराबर लागतका २३ वटा र एसियाली विकास बैङ्कको करिब तीन अर्ब ६० करोड अमेरिकी डलर लागतका २६ वटा आयोजना अघि बढिरहेका छन् । यी दुवै बैङ्कको सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा लगानी छ ।
पोर्टफोलियो समीक्षा बैठकमा दुवै बैङ्कले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानीमा ढिलाइ, वन क्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानुनी तथा व्यवहारिक जटिलता लगायत कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको गुनासो गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
आयोजनामा भइरहेको ढिलाइबारे विश्व बैङ्क र एसियाली विकास बैङ्कको गुनासो सुनेपछि अर्थमन्त्री पुनले ती आयोजनाका प्रणालीगत समस्यालाई नीतिगत सुधारमार्फत र व्यवहारिक समस्यालाई अन्तर मन्त्रालय तथा निकायसँगको समन्वयमा समाधान गरिने प्रतिबद्धता जनाउनुभयो ।
विकास आयोजना कार्यान्वयनमा दक्षता वृद्धि जरुरी रहेको मन्त्री पुनको भनाइ थियो । उहाँले विकास आयोजनामा ठेक्का व्यवस्थापन, अन्तर मन्त्रालय तथा एजेन्सी समन्वय, सुरक्षा तथा मानव संसाधन व्यवस्थापनलगायत क्षेत्रसँग सम्बन्धित रहेको बताउनुभयो । आफूले योजना कार्यान्वयन गर्ने निकायसँग समन्वय र छलफल गरिरहेको बताउनुहुँदै अर्थमन्त्री पुनले सम्बद्ध निकायबाट कामको गति बढाउने प्रतिबद्धता आएको जानकारी दिनुभयो ।
बैठकमा मन्त्री पुनसहित अर्थ सचिव कृष्णहरि पुष्कर, मन्त्रालयका सहसचिवहरू, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैङ्कका नेपाल, मालदिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्भोस, एसियाली विकास बैङ्कका दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेओ कोनिशीलगायत सहभागी हुनुहुन्थ्यो ।
विश्व बैङ्क र एसियाली विकास बैङ्कसँग बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
