नबिल बैङ्कले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रीय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । सो प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरेको छ । गोरखापत्र संस्थान र नबिल बैङ्कको साझेदारीमा गत शुक्रवारदेखि सुरु प्रदर्शनी एक सातासम्म चल्ने जनाइएको छ । प्रदर्शनीमा दैनिक सयौँको सङ्ख्यामा अवलोकनकर्ताहरू आइरहेको नबिल बैङ्कले जनाएको छ ।
नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले तस्बिर प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताउनुभयो ।
“तस्बिर प्रदर्शनी इतिहास बुझ्ने अवसर पनि हो, पछिल्लो चार दशकमा मुलुकको विकासको गति थाहा पाउने अवसर पनि हो”, उहाँले भन्नुभयो, “प्रदर्शनीमा राखिएका तस्बिरमा नेपालको चार दशकमा भएका मुख्य परिवर्तनलाई समेट्ने प्रयास गरिएको छ ।” उहाँले पछिल्लो चार दशकमा राजनीतिक रूपमा मुलुकमा अस्थिरता भए पनि मुलुकले विकासमा विकास निर्माणका काम भने भइरहेको बलियो प्रमाण तस्बिरहरू भएको बताउनुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय मुलुकमा केही पनि विकास भएन भन्ने भाष्य स्थापित भइरहेको अवस्थामा गोरखापत्र संस्थानले नबिल बैङ्कसँग व्यावसायिक साझेदारीमा सुरु गरेको तस्बिर प्रदर्शनीका माध्यमबाट विकास निर्माणलाई देखाउन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “नबिल बैङ्कसँग नयाँ ढाँचाको व्यावसायिक साझेदारीबाट दोहोरो व्यावसायिक प्रवर्द्धन गर्नु हाम्रो उद्देश्य हो, त्यसबाहेक समाजले पनि मुलुकमा भइरहेको विकासलाई तस्बिरमार्फत नजिकबाट अनुभव गर्न सकोस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।”
प्रदर्शनीमा ६० भन्दा बढी तस्बिर राखिएको छ । प्रदर्शनीमा मण्डला बनाउनु अघि माइतीघरमा रहेका घर भत्काउँदैका तस्बिरदेखि ५० सालतिर काठमाडौँको भरपर्दो यातायातको साधन विक्रम टेम्पो तथा ट्रली बसका ऐतिहासिक तस्बिर राखिएको छ । साथै २०४५ सालमा भारतले नाकाबन्दी गर्दा मट्टितेलका लागि लामबद्ध सर्वसाधारण, नाकाबन्दीपछि बङ्गलादेशबाट हवाई उडानमार्फत डिजेल ल्याइँदै गरेका तस्बिर पनि देख्न सकिन्छ । भारतले तत्कालीन समयमा २०४५ चैत १० गतेदेखि २०४७ असोज १७ गतेसम्म नाकाबन्दी गरेको थियो ।
त्यसै गरी नेपाल वायुसेवा निगमले २०४३ सालमा खरिद गरेको गण्डकी नामक बोइङ ७५७मा पहिलो पटक यात्रुहरू अवतरण गर्ने क्रमको ऐतिहासिक तस्बिरसँगै २०५२ सालमा रासायनिक मलको माग गर्दै भद्रकालीमा जम्मा भएका किसान र मरुहिटीमा कपडा धुने र नुहाउने परम्परा झल्काउने तस्बिर पनि प्रदर्शनीमा राखिएको छ ।
कुपण्डोलका अमृत खड्गी आइतबार दिउँसो दरबारमार्गस्थित नबिल बैङ्कको केन्द्रीय कार्यालय परिसरमा जारी तस्बिर प्रदर्शनी अवलोकनपछि निकै खुसी देखिन्थे। कामका सिलसिलामा बैङ्क आएका उनले सोही अवसरमा प्रदर्शनीमा ऐतिहासिक तस्बिर हेर्न पाउँदा रमाइलो लागेको सुनाए ।
“तस्बिर हेरेपछि पछिल्लो ४० वर्षमा मुलुकले ठुलो विकास गरेको रहेछ भन्ने लाग्यो, विभिन्न क्षेत्रमा भएका विकासलाई एकै ठाउँमा हेर्न पाउँदा निकै खुसी लाग्यो”, उनले भने ।
प्रदर्शनीमा नबिल बैङ्कको इतिहास सुरु आती दिनमा प्रयोगमा ल्याएको फ्याक्स मेसिन र प्रिन्टिङ मेसिन, नबिल बैङ्कको पुरानो कार्यालय भवन र ग्राहकहरूले सेवा लिँदै गरेको देख्न सकिन्छ ।
बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैङ्कले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।
 
नबिल बैङ्कको परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी, हेर्नेको भीड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    