नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आह्वान गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्क, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैर आवासीय नेपाली सङ्घ, अस्ट्रेलियाको संयुक्त आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरूले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको बताउनुभएको छ ।
“नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ,” उहाँले भन्नुभयो, “लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ ।”
महासङ्घको नेतृत्वमा स्थापना हुने १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनीको विषय सरकारले आगामी वर्षको लागि ल्याएको बजेटमा समेत समावेश गरेको उल्लेख गर्दै यसले नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने बताउनुभयो ।
उहाँले यस कम्पनीमा शेयर लगानी गर्दै नेपालको विकास र समृद्धिमा हातेमालो गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बोमबहादुर मिश्रले नेपालमा रेमिटेन्स पठाउँदा औपचारिक बैङ्किङ माध्यमको प्रयोग गर्न जोड दिनुभएको छ ।
उहाँले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैङ्कले यसमा सहजीकरण गर्ने समेत बताउनुभएको छ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैङ्कहरू ठुला ठुला लगानीका लागि समेत सक्षम बन्दै गएको बताउनुभयो ।
नेपाली बैङ्कहरू नेपाल राष्ट्र बैङ्कको रेगुलेसनमा रहेको बताउँदै नेपाली बैङ्कमा निक्षेप राख्दा सुरक्षित हुने र तुलनात्मकता बढी ब्याज पाइने समेत उल्लेख गर्नुभयो ।
उहाँले ग्लोबल आइएमई बैङ्कले गैर आवासीय नेपालीहरूलाई बैङ्किङ प्रणाली मार्फत नेपालमा पैसा पठाउन वा अध्ययन, भ्रमण तथा अन्य प्रयोजनको लागि अस्ट्रेलिया आउने नेपालीहरूलाई विभिन्न बैङ्किङ सेवाहरू उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा २०० बढी गैर आवासीय नेपालीहरूको सहभागिता रहेको थियो ।
मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासङ्घ अध्यक्ष ढकालको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
