प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतार बिच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहाल र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अमिर ९राजा० शेख तामिम बिन हमाद अल थानीबिच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराउनुभयो ।
कतारमा कार्यरत नेपालीहरू नेपाल–कतार बिच रही आएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले इजरायल र हमासबिच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षित रूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गर्नुभयो ।
नेपाल र कतार बिच सदैव सौहार्द सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबिच सम्बन्धहरू सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो । “कतार नेपालको विश्वासिलो मित्रका रूपमा रहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो सम्बन्ध प्रगाढ र विस्तार हुँदै गएको छ । यो सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित छैन, जनताको तहमा पनि बिस्तार भएको छ ।”
उहाँले दुई देशबिच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य’ नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा शुद्ध पिउने पानीको पर्याप्त स्रोत भएकाले विश्व बजारमा बोतल बन्द पिउने पानी वितरण गर्न सकिने प्रचुर सम्भावना छ ।” नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताउनुभयो ।
भौगोलिक विविधताका कारण नेपाल अर्ग्यानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने बताउनुभयो । नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।”
उहाँले सन् २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गर्नुभएको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचीमा नेपाललाई समावेश गर्न आग्रह गर्नुभयो ।
‘लुम्बिनी र पोखराबाट पनि उडान सञ्चालन गरौँ’
प्रधानमन्त्री दाहालले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबिच प्रभावकारी एवं पर्याप्त हवाई सेवा भएको उल्लेख गर्दै पोखरा र भैरहवास्थित विमानस्थलबाट पनि दोहामा हवाई सेवा सञ्चालनका लागि आग्रह गर्नुभयो ।
“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो । नेपाल र कतार बिच धेरै सम्झौता तथा समझदारीपत्रहरु ९एमओयु० सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समयको मागसँगै दुवै देशबिच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
आप्रवासी श्रमिक द्विपक्षीय सम्बन्धका सूत्र
प्रधानमन्त्री दाहालले कतारमा कार्यरत करिब चार लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताउनुभएको छ । उहाँले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरू पठाउनका लागि नेपालमा व्यावसायिक तालिम र सीप विकास केन्द्र स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली श्रमिकको सुरक्षाबारे चासो राख्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाल आफ्ना नागरिकका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ र यससँग सम्बन्धित समस्यालाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।”
आर्थिक विकास नेपालको प्राथमिकता
प्रधानमन्त्री दाहालले आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकाङ्क्षा पूरा गर्नका लागि मित्रराष्ट्र तथा विकास साझेदारबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्था वा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशालाजस्ता ठुला पूर्वाधार परियोजनाको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन प्रमको आग्रह
प्रधानमन्त्री दाहालले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । “आफ्नो शैक्षिक प्रयोगात्मक परीक्षाका लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजी करणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु ।”
प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।” पश्चिम एसियामा बिग्रँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले जतिसक्दो चाँडो युद्ध अन्त्य भएर शान्ति पुनः स्थापना होस् भन्ने कामना गर्नुभयो ।
 
नेपाल-कतार द्विपक्षीय वार्ता: नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    