छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रु चार करोडको केरा भारतबाट आयात गरेको छ । छठ पर्वका व्रतालुका लागि केरा अत्यावश्यक मानिन्छ ।
छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो । उहाँका अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।
स्थानीय स्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । “गत वर्ष रु पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।”
जनकपुरमा गोपाल र वंशी भोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुर गन्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो ।
छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उहाँले बताउनुभयो । “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ”, उहाँले भन्नुभयो ।
समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्ने उहाँले जानकारी दिनुभयो । बजारमा प्रत्येक केराको घरीलाई रु पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केरा खेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।
छठका लागि चार करोडको केरा आयात
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
