नेपाल बीमा प्राधिकरणद्वारा आज रापती उपत्यका (देउखुरी) स्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हलमा लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाइ गर्ने बीमा कम्पनीहरूलाई कारबाही गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गर्नुभयो ।
मुख्यमन्त्री चौधरीले बीमा दाबी भुक्तानी सजिलै गर्ने वातावरण तयार गरी बीमा क्षेत्रलाई बदनाम हुन नदिन आग्रह समेत गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि प्रदेश बीमा नीति ल्याउनु आवश्यक भएको औँल्याउनुहुँदै बीमा नीति निर्माणमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।
अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा सम्बन्धमा आउने गुनासा कम गर्न प्राधिकरणले नीतिगत र व्यवहारिक रूपमा कार्य गर्दै आएको छ, आम नागरिकलाई सहज रूपमा बीमा सेवा पुर्याउन जोड दिइएको छ ।”
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अध्यक्ष सिलवालले बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन कार्य भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाको महत्त्व, बीमा बजारको विद्यमान अवस्था, बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले बीमा गर्न बीमा अभिकर्ता घर घरमा जाने तर दाबी भुक्तानी गर्न भने बीमा कम्पनीहरूले ढिलाइ गर्ने वा नदिने गरेको गुनासो आउने गरेको, कृषि प्राविधिक र बीमा अभिकर्ताले पर्याप्त पारिश्रमिक नपाएका कारण कुषिबीमा विस्तार नभएको, हरेक स्थानीय तहसम्म बीमकका शाखा विस्तार गर्नु आवश्यक देखिएको उल्लेख गर्नुभएको थियो ।
यसै गरी, बीमा कम्पनीहरूले Compulsory बीमा बाहेक अन्य बीमा गर्न नमानेको, लम्पीस्किन रोगका कारण क्षति भएका गाई, भैँसीको बीमा दाबी भुक्तानी नगरेको, कोरोना बीमाको दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी समयमा नपाउँदा बीमाप्रतिको विश्वसनीयतामा कमी आएको लगायतका धारणा सहभागीहरूले राख्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरू, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक र प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले गर्नुभएको थियो ।
 
लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    