शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साहपूर्वक मनाउन आग्रह गर्नुभएको छ । दिवस मनाउन गठित मूल समारोह समितिको आजको बैठकमा मन्त्री राईले प्रदेश र स्थानीय तह तथा विद्यालय एवं सामाजिक संस्था स्तरमा दिवस मनाउन आग्रह गर्नुभएको हो ।
शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले मधेस प्रदेशमा शिक्षाको अवस्था कमजोर भएकाले त्यसका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । बैठकमा समितिका सदस्यसचिव एवं मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दिवसका लागि प्रकाशित सूचना अनुसार नेपाल विद्याभूषण ‘क’ का लागि सात सय ७८, ‘ख’ का लागि एक सय ७१ र ‘ग’ का लागि ५० को आवेदन प्राप्त भएको छ । दिवसका अवसरमा यस वर्ष नेपाल प्रविधि भूषण र नेपाल समाज कल्याण पुरस्कार थप गरिएको छ ।
यसका अतिरिक्त राष्ट्रिय शिक्षा पुरस्कारबाट एक सय ७७ जनालाई पुरस्कृत गर्ने योजना छ । बैठकले मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा कार्यक्रम समन्वय समिति, सहसचिव डा हरिप्रसाद लम्सालको संयोजकत्वमा पुरस्कार चयन उपसमिति, सहसचिव भगवान् अर्यालको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति, प्रवक्ता शर्माको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र सहसचिव डा कमल पोखरेलको संयोजकत्वमा आदर्श वाक्य चयन कार्यदल गठन गरेको छ ।
शिक्षामन्त्रीको अध्यक्षतामा रहेको मूल समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, विभिन्न विश्वविद्यालयका उपकुलपति, काठमाडौँ र ललितपुर महानगरका प्रमुख, शैक्षिक निकायका प्रमुख, राज्यकोसञ्चार माध्यमका प्रमुख, नेपाल शिक्षक महासङ्घ, निजी विद्यालय सञ्चालकका संस्थालगायत शिक्षामा कार्यरत संस्थाका प्रतिनिधि छन् ।
संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी विधेयक प्रमाणीकरण भएको मितिलाई आधार मानेर असोज २ गते दिवस मनाउन लागिएको हो । सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गर्नुभएको थियो ।
विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा २०७७ सालदेखि स्थगन भएको राष्ट्रिय दिवसको नयाँ मिति गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले तय गरेको थियो ।
राष्ट्रिय शिक्षा दिवस उत्साहपूर्वक मनाउन शिक्षामन्त्रीको आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
