भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत्र २३ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता ३० हजार सम्म रहेकाे छ ।
कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरका ५ लाख ४४ हजार ०५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन गरी रितपूर्वक प्राप्त ८५ हजार ०२० कित्ता शेयर सम्बन्धित आवेदकलाई बाँडफाँड गरिएको र जारी पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको १० लाख ८८ हजार १०७ कित्ता शेयर मध्ये १ लाख ०८ हजार ८११ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि निष्कासन गरिएको शेयर तथा कर्मचारीहरूलाई सुरक्षित गरिएको शेयर समेत बाँडफाँड पश्चात् ७१ हजार ९१६ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्ता साधारण शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) चैत्र २७ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा वैशाख ०७ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी-आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।