नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न, उद्यम गर्ने र उद्योगी बन्नेलाई सहयोग गरिने

नबिल बैङ्कले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बैङ्कले बताएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरेको सो बैङ्कले जनाएको छ ।

बैङ्कले शुक्रवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको छ । सोही अवसरमा बैङ्कले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको जनाएको छ ।

बैङ्कले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको बताएको छ ।


सो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार बैङ्कले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो । तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएको बैङ्कले बताएको थिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन् । कार्यक्रममा सहभागीहरूले आफ्ना प्रडक्टहरूको स्टलमा प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा नबिल बैङ्कका डेपुटी सिइओ मनोज ज्ञवालीले सहभागीहरूको प्रडक्ट र सेवाहरू देख्दा धेरै खुसी लागेको बताउनुभयो । बैङ्कको उद्यमी बनाउने उद्देश्यमा १८ जना सहभागीहरूले उद्यमशीलताको दियोको रूपमा काम गर्ने उहाँले बताउनुभयो । ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो,’ उहाँले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राडा डिन डिल्लीराज शर्माले कार्यक्रममा बोल्दै नबिल एसएसईमा सहभागीहरू समाज परिवर्तनका एजेन्ट रहेको बताउनुभयो ।

पहिले आफू सामाजिक अभियन्ता मात्र भएको र नबिलको कार्यक्रममा जोडिएपछि आफूले  उद्यमीको संज्ञा पाएको फेलोसिप कार्यक्रममा सहभागी भएकी दीक्षा पौडेलले बताइन। धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उनले भनिन्, ‘मलाई उद्यमशीलताको बारेमा केही थाहा थिएन र म बिजनेस ब्याक ग्राउन्डको विद्यार्थी पनि होइन । तर अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रडक्ट लन्च गर्ने स्टेजमा पुर्‍याएको छ, र अहिले ब्रान्डिङमा काम हुँदै छ ।’ नबिलको यो कार्यक्रम धेरै नै प्रभावकारी रहेको छ र म नबिल प्रति आभारी छु’, उनले भनिन् ।

यस्तै इलामका यमबहादुर कार्की बैङ्कको फेलोसिप कार्यक्रमले आफूलाई अहिले उद्यमीको पहिचान दिएको महसुस गरेको बताउँछन् । ‘हाम्रो समाजमा धेरै समस्या छन्, युवापुस्ता दिनदिनै बिदेसिनु परिरहेको छ । गाउँमै कफी खेतीका माध्यमबाट गाउँमा रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने निर्णय गरेँ,’ कार्कीले भने । उनले भने, ‘मेरो यो सपनालाई पुरा गर्न नबिलको कार्यक्रमले सहयोग गरेको छ । अहिले उत्पादित वस्तु बजारमा ब्राण्ड नेमका साथ आइसकेको छ र मैले रोजगारी सृजना गरिरहेको छु ।’ नबिल एसएसईले उद्यमी मात्रै नभएर उद्योगी बनाएरै छाड्ने कार्कीको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले उद्यमी पैदा गर्ने आफूहरूको उद्देश्य रहेकाले यो अभियानलाई साकार पार्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस्ता तालिमले नेपाली युवालाई उद्यमीको पथदर्शन गराउने र लाखौँको सङ्ख्यामा बाहिरिँदै गरेका नेपाली युवालाई नेपालमा रहेका सम्भावना र अवसरको जानकारी दिने बताउनुभयो ।

सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैङ्क र त्रिवि बिच फेरि सम्झौता भएको छ । सम्झौता पत्रमा बैङ्कका तर्फबाट सिइओ ज्ञानेन्द्र ढुङ्गाना र उपाध्यक्ष निर्वाण चौधरी तथा त्रिविका तर्फबाट उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र प्राडा डिन डिल्लीराज शर्माले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा बैङ्कका उपाध्यक्ष चौधरीले नबिल बैङ्क उद्यम र उद्यमी बन्न चाहनेहरूको लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उद्यमी बन्न सजिलो त छैन तर नबिलले तपाईँहरूलाई उद्यम बन्न हरेक तवरले सहयोग गर्नेछ ।’

कार्यक्रममा पहिलो चरणमा सहभागी भएकाहरूलाई उपाध्यक्ष चौधरी र प्राडा बास्कोटाले प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x