मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारण सभा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । 
 
साधारण सभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा  सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो । 
 
साधारण सभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ स्वीकृत गरेको छ ।
 
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रक्रिया पुरा भइसकेको छ ।
 
साथै, साधारण सभाले बैकको अधिकृत पु‘जी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । 

 
बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । 
 
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो । उहाँले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउनुभयो । यसका साथसाथै, अध्यक्ष ढकालले शेयरधनीको आकाङ्क्षाअनुरूप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताउनुभयो । 
 
आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद व्याज आम्दानी तर्फ गत वर्ष भन्दा १ अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । 
 
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८९० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x