आत्मसमिक्षा, ईमान्दारिता र आत्मविश्वासका साथ अघि बढे सफल भइन्छ - बैंकर ज्ञवाली

नेपाल राष्ट्र बैंकबाट करियर शुरु गरेका सि.ए. (CA) मनाेज ज्ञवालीसँग ग्लाेबल आइएमई बैंक एवं ग्लाेबल आइएमई क्यापिटलमा समेत काम गरेकाे अनुभव छ । हाल उहाँ ज्योति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । कुशल बैंकर तथा विश्लेषक ज्ञवाली एक उत्प्रेरक (Motivator) पनि हुनुहुन्छ । प्रस्तुत छ ज्ञानमाण्डू प्रतिनिधि र श्री मनाेज ज्ञवाली बीच सफलता र करियरका विषयमा भएकाे संक्षिप्त कुराकानी ।
 
  • तपांइको पारिवारिक पृष्ठभूमि बारे केही भनिदिनुहोस् न ? 
घर दैलेख जिल्लाको भैरबी गाउपालीकामा, बुबा आयुर्वेद चिकित्सक, आमा गृहणी, एसएलसी दैलेखको विजया मा .वि. दुल्लुबाट। 
 
  • तपांइले आफ्नो करियरका सम्बन्धमा कुनै योजना बनाउनु भएको थियो कि शुरुमा ? 
कक्षामा राम्रो पढ्ने विद्यार्थीलाई घरबाट र स्कूलबाट कि डाक्टर कि ईन्जिनियर पढ भन्ने सल्लाह हुन्थ्यो। एसएलसी पछि साईन्स पढ्ने भनेरै काठमाण्डौ आईयो तर दुई महिना आईएसस्सीको कक्षा लिएर भर्ना नै नगरी फुपुको छोरा दाजुको सल्लाह बमोजिम व्यबस्थापन पढ्न थालियो। बि.कम. पढ्दै गर्दा सि.ए. पढ्न गाह्रो हुन्छ तर पढिसके पछि कमाई र ईज्जत दुबै राम्रो हुन्छ भन्ने सुनेर सि.ए. पढ्न भारत तिर लागियो। जे पनि पढे पनि पास हुन्छु, राम्रै गर्छु भन्ने आत्मविश्वास थियो तर आई.कम. पढ्दै गर्दा सि.ए. को बारेमा भने कुनै जानकारी नै थिएन। 
 
  • CA पढ्न जादा कुन योजनाका साथ जानु भएको थियो ? 
सन् १९९८ मा यसो बुझ्दै भारतको लखनउ पुगियो। नेपालमा सि.ए. काे पढाई शुरु भएकै थिएन। पढ्न गाह्रो हुन्छ तर खर्च कम लाग्छ भन्ने जानकारी भएपछि आफ्नो अनुकुल बिषय लाग्यो अनि भा.रु.२२५० तिरेर भर्ना भईहालियो। मलाई पढेर फेल हुन्छु जस्तो लाग्दै लाग्थेन। मलाई मेरो प्रिन्सिपलले सोध्नु भो "बेटा सि.ए.बहूत टफ कोर्स है कर पाएगा ?" मैले भने  "सर आजतक कभी फेल नही हुआ हुँ" अनि उहाँको जवाफ आयो "बेटा फेल होनेवाले सि.ए. करने नही आते फेल होने के लिए आते"। तर म डग्मगाईन मेरो सोच दृढ थियो अघि बढेँ। 
 
  • तपांइले तपांइको करियरको यात्रामा कुनै कठोर निर्णय लिनुभएको याद छ कि ? 
निर्णय गरिसके पछि म त्यसलाई आत्मसात गरेर अघि बढ्छु। साईन्स पढ्न आएको मान्छे कमर्स शुरु गरियो । नेपाल राष्ट्र बैंकको जागीर छोड्दा होस् या ग्लोबल आईएमईको; मैले एक पटक केहि कुरा सोचिसकें भने फर्केर हेर्दिन। अघि बढ्ने हो। अहिले सम्मका कुनै निर्णयमा मलाई पछुतो छैन र कठोर जस्तो पनि लाग्दैन। गुनासो पनि कसैसँग फिटिक्कै छैन। 

तस्बिर-फेसबुक वालबाट
 
  • तपांइले आफूलाई आज यो स्थानमा आउनुमा के कुराले सहयोग पुर्याए जस्तो लाग्छ ?
बाबाआमा को तिमी पढ मात्रै बांकी सब कुराको चिन्ता नगर भनेर अघि बढ्न दिएको हौसला। स्कूलको सरहरुले मनोज तिमी जे पनि गर्न सक्छौ भनेर बढाईदिएको आत्मबिश्वास। राष्ट्र बैंकमा काम गर्दा देखि ग्लोबल आईएमई बैंकमा काम गर्दाका केहि Mentor हरु र ज्योति बिकास बैंकको सञ्चालक समितिका साथै मेरा एकदमै शुभचिन्तक साथी सबैको उत्तिकै सहयोग छ, म याे स्थान सम्म आइपुग्नमा । मेरो ईमान्दारिता र आत्मविश्वासको कारणले मलाई कहिल्यै पछाडि फर्किनु परेन। 
 
  • आजका युवाहरुले आफ्नो करियर सम्बन्धमा ध्यान दिए जस्तो लाग्छ या लाग्दैन ? 
युवाहरुलाई अवसर धेरै भएर होला 'हरियो बारीमा छोडेके भोको बाख्रा' जस्तै गरिरहेको देख्छु मैले। धेरै युवाहरु पहिले भन्दा बढी जानकारी राख्दछन्, Knowledge  पनि छ तर Focused छैनन् जस्तो लाग्छ । 
 
  • भर्खर करियर बनाउने तरखरमा रहेका युवाहरुलाई तपांइको के कस्तो सुझाव छ ? 
कसैले पनि करियरका निर्णयहरु हतारमा नगर्नुहाेस् । आफ्नो पढाई, रुची, पारिवारिक जरुरत, आफ्नो क्षमता र आफ्ना समस्याहरुलाई बुझ्नुहाेस्। यी सबैसँग आफुले रोज्न चाहेका करियरका विकल्पहरुलाई दांज्नुहोस र जे गर्दा आफू खुशी हुन्छु र आफूले जहां बढी Contribute  गर्न सक्छु जस्तो लाग्दछ, त्यो करियरको पछि लाग्नुस। एक दुई पटक असफल हुदैमा हार नखानुहाेस्। लक्ष्यलाई निरन्तर पछ्याई  राख्नुहाेस् । जुन पायो त्यही जागीर या व्यवसायमा अल्झिदा कही पुगिदैन, केबल समय मात्रै बित्छ। 
 
  • यदि तपांई आज तपांइको करियर शुरु गर्ने अवस्थामा रहेको भए के कुरा पहिले भन्दा फरक तरिकाले गर्नुहुन्थ्यो होला ? 
मलाई त अहिले आएर केही फरक भैदिए हुन्थ्यो जस्तो लाग्दैन। पहिला आर्मी पुलीस अफिसरको जागीर खुब मन पर्थ्यो तर कहिल्यै कोशिस नै गरिएन। म त यही करियर Repeat पो गर्थे जस्तो लाग्यो। 
 
  • अन्त्यमा भर्खर करियर बनाउने अवस्थाका युवाहरुलाई तपांइको केही सन्देश छ कि ? 
आफुले पढाईको क्रममा सिकेका कुराहरुले अब कहां मद्दत पुर्योउछन् समिक्षा गर्नुहाेस् । पढाई निरन्तर कायम राख्नुहाेस् । अहिलेको सबैभन्दा ठूलो सम्पत्ति भनेकै राम्रो व्याक्तिगत सम्बन्धहरु हुन्, यसैले आफ्नो करियर या रुची संग सम्बन्धित काम गरिरहेका अग्रजहरुसंग सम्बन्ध स्थापित गर्नुहाेस् । सफल हुनका लागि लक्ष्य र लक्ष्य प्रतिको लगाव जरुरी हुन्छ। आत्मसमिक्षा गर्नुहाेस् र पुरै ईमान्दारिता र आत्मविश्वासका साथ अघि बढ्नुहाेस्, पक्कै सफल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x