ज्ञानमाण्डू।सबै स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुर्याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहज रूपमा वित्तीय सेवा पुर्याउने उद्देश्यले सरकारले सुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । स्थानीय तहमा नै बैङ्क तथा वित्तीय संस्थाको शाखा खुलेपछि लामो समय लगाएर सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्यसमेत भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार कूल ७५३ स्थानीय तहमध्ये अब १० स्थानीय तहमा मात्रै वाणिज्य बैङ्कका शाखा खुल्न बाँकी छ । बाँकी रहेका स्थानीय तहमा पनि वाणिज्य बैङ्क शाखा खोल्न तयार भए पनि सुरक्षा, सूचना प्रविधिको पहुँच तथा उपयुक्त घरको अभावमा जटिलता देखिएको छ । बैङ्कले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार कूल ७५३ मध्ये ७४३ स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा खुलेका छन् ।
बैङ्कका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै वाणिज्य बैङ्कले शाखा खोल्न बाँकी रहेको छ । यस्तै प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये १३५ स्थानीय तहमा बैङ्क पुगेका छन् । यस्तै सङ्घीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानमा बैङ्कका शाखा पुगेका छन् ।
केन्द्रीय बैङ्कका अनुसार गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ मा बैङ्कका शाखा खुलेका छन् । प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा खुलेका छन् । वित्तीय रूपमा सो प्रदेशका सबै स्थानीय तहमा शाखा खुलेर पहुँच स्थापित भएको छ । कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८४ मा वाणिज्य बैङ्कका शाखा खुलेका छन् ।
स्थानीय तहमा बैङ्कको शाखा पुर्याउने सरकारको लक्ष्यलाई आत्मसात् गर्दै आफूहरूले पनि दुर्गम क्षेत्रमा शाखा खोलेको प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । प्रभु बैङ्कले डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङमा समेत बैङ्कको शाखाको विस्तार गरेको छ ।
समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाइमा रहेको साल्दाङस्थित शे–फोक्सुन्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणलाई बैङ्कले सेवा दिने लक्ष्य राखेको छ ।
यस्तै सनराइज बैङ्क, एनएमबी बैङ्कले पनि राष्ट्र बैङ्कले तोकेको स्थानमा आफ्ना शाखा खोली वित्तीय सेवा दिएका छन् । एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पनि राष्ट्र बैङ्कले दिएको निर्देशनअनुसार नै आफूहरूले स्थानीय तहमा शाखा विस्तार गरेको बताएका छन् । राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या गत मङ्सिर मसान्तसम्म कूल १६५ रहेको छ । त्यसमा २७ वाणिज्य बैङ्क, २४ विकास बैङ्क, २२ वित्त कम्पनी, ९१ लघु वित्त संस्था र एक पूर्वाधार विकास बैङ्क छन् । बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या नौ हजार २९७ पुगेको छ । गत असार मसान्तमा त्यस्ता शाखा सङ्ख्या कूल आठ हजार ६८६ रहेको थियो ।
केन्द्रीय बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने एवं प्राप्ति हुने प्रक्रिया सुरु भएपश्चात् गत मङ्सिर मसान्तसम्म कूल १८१ बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभिएका छन् । त्यसमध्ये १३८ संस्थाको इजाजत पत्रसमेत खारेज भएका छन् ।
अन्तरवार्ताका क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सबै स्थानीय तहमा बैङ्कको शाखा खोल्ने क्रम लक्ष्यको नजिक पुगेको बताएका थिए । उनले केही स्थानीय तहमा सूचना, प्रविधि पुग्न बाँकी रहेको र केहीमा सुरक्षाको प्रबन्धलगायतको काम पूरा हुने बित्तिकै शाखा खुल्ने विश्वास व्यक्त गरेका थिए । वित्तीय समावेशीताका लागिसमेत अनिवार्य रूपमा बैङ्क तथा वित्तीय संस्थाका शाखा खुल्नुपर्ने र नागरिकमा वित्तीय पहुँच स्थापित हुनुपर्नेछ ।रासस