वित्तीय पहुँचमा अघि बढ्दै लुम्बिनी प्रदेश, निक्षेप र कर्जा प्रवाह क्रमशः ३२ र १९ % ले वृद्धि


ज्ञानमाण्डू। लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरूको स्थलगत तथा गैर स्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा सूचनाको आधारमा केन्द्रीय बैङ्कले तयार गरेको आर्थिक वर्ष २०७७/७८ को प्रथम अर्ध–वार्षिक अध्ययन प्रतिवेदनका अनुसार २०७७ पुस मसान्तसम्म लुम्बिनी प्रदेशको वित्तीय पहुँच वृद्धि हुने क्रममा निक्षेप सङ्कलन ३२.२८ प्रतिशतले बढेर रु. ३ खर्व अधिक पुगेको छ भने यस प्रदेशमा प्रवाह गरेको कर्जा गत अवधिको तुलनामा १९.०५ प्रतिशतले वृद्धि भई कुल रु.४ खर्व अधिक रहेको देखिएको छ।  

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म लुम्बिनी प्रदेशका १२ जिल्लाहरूमा बैङ्क तथा वित्तीय संस्थाहरूको २००४ शाखाहरू सञ्चालनमा रहेका छन् । जस मध्ये नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त 'क' वर्गको ६७८ वटा, 'ख' वर्गको २७० वटा, 'ग' वर्गको ३८ र लघुवित्त विकास बैङ्कको '१०१८' वटा शाखाहरू सञ्जाल सञ्चालनमा रहेका छन् । तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण १०९ स्थानीय तहहरूमा वाणिज्य बैङ्कको शाखा पुगिसकेको छ।  यस प्रदेशमा २०७७ पुस मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको एटिएमको सङ्ख्या ६६९ रहेका छन् ।

लुम्बिनी प्रदेशमा सर्वाधिक शाखा सञ्जाल रहेको जिल्ला रुपन्देही रहेको छ । यस जिल्लामा सबैभन्दा बढी ५०६ बैङ्क तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालनमा रहेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या, निक्षेप तथा कर्जा लगानीको अवस्था पनि यस जिल्लामा सबैभन्दा बढी रहेको देखिन्छ ।  त्यसै गरी, लुम्बिनी प्रदेशमा सबैभन्दा कम वित्तीय पहुँच भएको जिल्ला रुकुम पूर्व रहेको छ। यस जिल्लामा सबैभन्दा कम १४ मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको शाखाहरू सञ्चालनमा रहेका छन् । 

  • बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेपको अवस्था

केन्द्रीय बैङ्कको प्रारम्भिक तथ्याङ्क अनुसार २०७७ पुस मसान्तसम्म कुल निक्षेप खाताको सङ्ख्या २०.२३ प्रतिशतले वृद्धि भई ५४ लाख २६ हजार ३ सय ४९ पुगेको छ भने २०७७ पुष मसान्तसम्म लुम्बिनी प्रदेशबाट परिचालन गरिएको कुल निक्षेप सङ्कलन ३२.२८ प्रतिशतले वृद्धि भई रु.३ खर्व ६७ अर्ब ८५ करोड ४३ लाख ८० हजार पुगेको तथ्याङ्कले जनाएको छ । 

जस मध्ये, २०७७ पुस मसान्तसम्म चल्ती निक्षेप गत अवधिको तुलनामा १६.८९ प्रतिशतले वृद्धि भई रु.३२ अर्ब १५ करोड ५६ लाख ६० हजार पुगेको छ । त्यस्तै,  समीक्षा अवधिमा बचत निक्षेप गत अवधिको तुलनामा ३४.०९ प्रतिशतले वृद्धि भई कुल रु.१ खर्ब ८५ अर्ब ७५ करोड ३६ लाख ६० हजार पुगेको छ भने सोही अवधिमा मुद्दती निक्षेप गत अवधिको तुलनामा ३८.७७ प्रतिशतले वृद्धि भई कुल रु.१ खर्ब २१ अर्ब ८४ करोड ८९ लाख ९० हजार पुगेको छ । यता, २०७७ पुस मसान्तसम्म अन्य निक्षेप गत अवधिको तुलनामा १५.८६ प्रतिशतले वृद्धि भई रु.२८ अर्ब ९ करोड ६० लाख ७० हजार पुगेको देखिन्छ ।

  • बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जा स्थिति

२०७७ पुस मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत अवधिको तुलनामा १९.०५ प्रतिशतले वृद्धि भई कुल रु.४ खर्व १७ अर्ब ८५ करोड ४७ लाख ८० हजार पुगेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको विश्लेषण गर्दा कृषि क्षेत्रमा ९ प्रतिशत, उद्योग क्षेत्रमा २७.३४ प्रतिशत र सेवा तथा अन्य क्षेत्रमा ६३.६६ प्रतिशत लगानी भएको देखिन्छ । यस क्षेत्रको समग्र कर्जा निक्षेप अनुपात ११३.६ प्रतिशत रहेको छ । जिल्ला गत रूपमा हेर्दा यस्तो अनुपात सबैभन्दा बढी रुपन्देही जिल्लामा १३१.४ प्रतिशत छ भने रुकुम पूर्व जिल्लामा सबै भन्दा कम ३१.१ प्रतिशत रहेको छ । 

१२ वटा जिल्लाहरू बर्दिया, बाँके, दाङ, रुकुम पूर्वी, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिम रहेका यस लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कुल १ सय ९ वटा स्थानीय तहहरू छन्।

स्रोत: नेपाल राष्ट्र बैङ्क  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x