वित्तीय विवरण प्रकाशित गरेका विकास बैङ्कहरू मध्ये प्रति शेयर आम्दानीमा को अगाडि?


ज्ञानमाण्डू।चालु आ.व.को पहिलो ३ महिनाको सार्वजनिक वित्तीय विवरण अनुसार विकास बैङ्कहरू मध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले आर्जन गरेको छ भने समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी लुम्बिनी विकास बैङ्कको रहेको देखिएको छ ।

आकर्षक मुनाफा गर्ने शेयर बजारको एक क्षेत्र विकास बैङ्क पनि हो । अन्य क्षेत्र भन्दा निकै कम जोखिम र चुक्ता पुँजीको तुलनामा आकर्षक मुनाफा हुँदा विकास बैङ्क उपसमूह लगानीकर्ताको रोजाइमा पर्दै आएको छ। चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमास अर्थात २०७८ साल असोज मसान्तसम्मको तथ्याङ्कलाई आधार मान्दा ६ वटा विकास बैङ्कको प्रति शेयर आम्दानी २० रुपैयाँ भन्दा अधिक रहेको देखिन्छ ।

समिक्षा अवधिमा नेप्सेमा कारोबार भइरहेका कुल १६ विकास बैङ्कहरू मध्ये सबै भन्दा धेरै प्रति शेयर आम्दानी लुम्बिनी विकास बैङ्कको रहेको छ। सो अवधिमा उक्त विकास बैङ्कको प्रति शेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा रहेको छ। जुन गत आर्थिक वर्षको सम्बन्धित त्रैमासको तुलनामा ७८.३६ प्रतिशतको वृद्धि हो।



त्यसै गरी, यस अवधिमा सर्वाधिक नाफा गरेको मुक्तिनाथ विकास बैङ्कको प्रति शेयर आम्दानी २८ रुपैंया ७३ पैसा रहेको छ। जुन गत आर्थिक वर्षको सम्बन्धित त्रैमासको तुलनामा १७.५१ प्रतिशतको वृद्धि हो। त्यस्तै, सोही अवधिमा महालक्ष्मी विकास बैङ्कको प्रति शेयर आम्दानी २७ रुपैयाँ ५९ पैसा, कामना सेवा विकासको २६ रुपैयाँ ५१ पैसा, ज्योति विकासको २२ रुपैंया ६६ पैसा र गरिमा विकासको प्रति शेयर आम्दानी २० रुपैयाँ ०७ पैसा रहेको छ।

यस अवधिमा २० रुपैंया अधिक प्रति शेयर आम्दानी रहेका ६ वटा विकास बैङ्कहरू मध्ये कामना सेवा विकासको प्रति शेयर आम्दानी भने गत आ.वको सम्बन्धित त्रैमासको तुलनामा १५.८७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कलाई आधार मान्दा सूचिकृत विकास बैङ्कहरू मध्ये सर्वाधिक ईपिएस कामना सेवा विकास बैङ्कको रहेको थियो। उक्त अवधिमा बैङ्कको प्रति शेयर आम्दानी ३१ रुपैंया ५१ पैसा कायम थियो।

यस अवधिमा विकास बैङ्कहरू मध्ये कर्णाली डेभलपमेन्ट बैङ्कले सर्वाधिक प्रति शेयर आम्दानी बढोत्तरी गर्न सफल भएको छ। बैङ्कले गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ५५५ प्रतिशत अधिकले प्रति शेयर आम्दानी बढाएको छ। यता, सप्तकोशी डेभलपमेन्ट बैङ्कले भने अधिकांश विकास बैङ्कहरू मध्ये सर्वाधिक नकारात्मक प्रति शेयर आम्दानी आएको तथ्याङ्क सार्वजनिक गरेको छ। बैङ्कको प्रति शेयर आम्दानी घाटा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा २०४ प्रतिशत अधिकले बढेको छ।

अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x