५ महिनामा करिब साढे १५ अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दा, नयाँ व्यापार गर्न कुन जीवन बीमा तगडा ?


ज्ञानमाण्डू।चालु आर्थिक वर्षको मङ्सिर महिनासम्ममा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १९ जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ३४ करोड प्रथम बीमा शुल्क सङ्कलन गरेका छन् जसमध्ये उक्त जीवन बीमा कम्पनीहरूले गत मङ्सिर एक महिनाको अवधिमा मात्रै ३ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ।

गत आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको तुलनामा १६.७८ प्रतिशतले व्यापार वृद्धि गर्न सफल जम्मा १९ वाट जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म आइपुग्दा कुल ५७ अर्ब ७९ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका छन् ।तथ्याङ्क अनुसार, उक्त जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा १५ अर्ब ३४ करोड रुपैंया प्रथम बीमा शुल्क, ४१ अर्ब ६३ करोड रुपैंया नवीकरण शुल्क र ८१ करोड रुपैंया वैदेशिक रोजगार बीमा शुल्क सङ्कलन गरेका छन्। गत आर्थिक वर्षको समीक्षा अवधिमा अधिकांश जीवन बीमा कम्पनीहरूले ४९ अर्ब ४९ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको मङ्सिर महिनामा मात्रै ३ अर्ब १३ करोड रुपैयाँ अधिक प्रथम बीमा शुल्क आर्जन गरेका १९ जीवन कम्पनीहरूले औसतमा १६ करोड ४९ लाख रुपैंया प्रथम बीमा शुल्क आर्जन गरेका तथ्याङ्कले जनाएको छ। यस अवधिमा ७ जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १२ यस्ता जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको देखिएको छ। यहाँ हामीले मुलुकमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको मङ्सिर महिनामा आर्जन गरेको प्रथम बीमा शुल्क अथवा चालु आर्थिक वर्षको मङ्सिर महिनामा जीवन बीमा कम्पनीहरूले गरेको नयाँ व्यापारका बारेमा चर्चा गर्नेछौँ।

  • मङ्सिर एक महिनाको अवधिमा सर्वाधिक प्रथम बीमा शुल्क आर्जन नेपाल लाइफको :

चालु आर्थिक वर्ष २०७८/७९ को मङ्सिर महिनामा नेपालमा हाल सञ्चालनमा रहेका कुल १९ जीवन कम्पनीहरू मध्ये सर्वाधिक प्रथम बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ६८ करोड १९ लाख रुपैंया प्रथम बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को मङ्सिर महिनामा सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गर्ने अर्को जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स रहेको छ। यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले ३४ करोड ७० लाख रुपैंया प्रथम बीमा शुल्क आर्जन गरेको छ भने युनियन लाइफ इन्स्योरेन्सले २४ करोड ५८ लाख रुपैंया प्रथम बीमा शुल्क सङ्कलन गरेको छ।

समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको प्रथम बीमा शुल्क आर्जन २३ करोड ८ लाख रहेको देखिन्छ। सोही अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २१ करोड ९ लाख रुपैंया प्रथम बीमा शुल्क आर्जन गर्दा सूर्या लाइफ इन्स्योरेन्सले २० करोड ४ लाख रुपैंया र सिटिजन लाइफले १९ करोड ७ लाख रुपैंया प्रथम बीमा शुल्क सङ्कलन गरेका छन्।

यता, समीक्षा अवधिमा सर्वाधिक कम बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान भएको छ। उक्त इन्स्योरेन्सले चालु आर्थिक वर्षको मङ्सिर महिनाको अवधिसम्ममा मात्र ४ करोड ६५ लाख रुपैंया प्रथम बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले जनाएको छ।



  • चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म अथवा ५ महिनाको अवधिमा सर्वाधिक प्रथम बीमा शुल्क आर्जनमा पनि नेपाल लाइफ कै प्रभुत्व :

चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म आइपुग्दा कुल १५ अर्ब ३४ करोड प्रथम बीमा शुल्क सङ्कलन गरेका हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १९ जीवन बीमा कम्पनीहरूले औसतमा ८० करोड ७६ लाख रुपैंया प्रथम बीमा शुल्क आर्जन गरेका तथ्याङ्कले जनाएको छ। यस अवधिमा ६ जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १३ यस्ता जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको देखिएको छ।

समीक्षा अवधिमा सर्वाधिक बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । यस ५ महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले कुल २ अर्ब ९८ करोड रुपैंया प्रथम बीमा शुल्क आर्जन गरेको देखिन्छ । सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ८३ करोड रुपैंया प्रथम बीमा शुल्क सङ्कलन गर्दा सिटिजन लाइफले १ अर्ब ५ करोड रुपैंया आर्जन गरेको देखिन्छ । चालु आर्थिक वर्षको गत ५ महिनाको अवधिमा अर्ब अधिक नयाँ व्यापार गर्न ३ जीवन बीमा कम्पनीहरू सफल भएको तथ्याङ्कले देखाएको छ।

त्यसै गरी, उल्लेखित अवधिमा झन्डै अर्ब रुपैंयाको नयाँ व्यापार गर्ने गर्ने अन्य दुई संस्था युनियन लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेका छन्। चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म आइपुग्दा युनियन लाइफ इन्स्योरेन्सले ९८ करोड रुपैंया अधिकको प्रथम बीमा शुल्क आर्जन गरेको छ भने सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ९३ करोड रुपैंया अधिकको प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। यसै अवधिमा रिलायबल नेपाल लाइफ इन्सोरेन्सले भने ८४ करोड रुपैंया अधिकको नयाँ व्यापार गर्न सफल भएको छ।

यता, चालु आर्थिक वर्षको मङ्सिर महिनासम्मको ५ महिने अवधिसम्ममा आइपुग्दा सर्वाधिक कम बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी गुराँस लाइफ इन्स्योरेन्स भएको छ। उक्त इन्स्योरेन्सले चालु आर्थिक वर्षको ५ महिनाको अवधिसम्ममा मात्र २७ करोड ८७ लाख रुपैंया प्रथम बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x