
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरण निष्कासन गर्ने भएको छ। राष्ट्र बैङ्कले ३५ दिन अवधिको उक्त उपकरण बोलकबोलमार्फत बिक्री गर्न लागेको हो।
राष्ट्र बैङ्कको बैङ्किङ विभागले साउन २७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोलका लागि आह्वान गरेको छ। उपकरणको निष्कासनसँगै यसको ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोलबाटै निर्धारण हुनेछ।
बोलकबोलमा सहभागी बैङ्क तथा वित्तीय संस्थाले आफूले लिन चाहेको निक्षेप रकम र प्रस्तावित ब्याजदर खुलाउनुपर्नेछ। न्यूनतम १० करोड रुपैयाँबाट सुरु हुने बोल १० करोड रुपैयाँकै गुणाङ्कमा गर्नुपर्ने व्यवस्था छ। यसरी कुल ३० अर्ब रुपैयाँसम्मको बोल पेस गर्न सकिनेछ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाले निक्षेप रकम र ब्याजदर दशमलवपछि चार अङ्कसम्म उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैङ्कले कुल ३० अर्ब रुपैयाँ सङ्कलन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव भएका बोललाई प्राथमिकतामा राख्दै क्रमशः उच्च ब्याजदरका बोल स्वीकार गर्नेछ। यस क्रममा आह्वान गरिएको रकम पूरा नभएसम्म बोल स्वीकार गरिनेछ।
समान ब्याजदरमा परेका बोलको कुल रकम निष्कासन रकमभन्दा बढी भएमा उपलब्ध रकमलाई प्रो–राटा आधारमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ। बोल स्वीकार गर्ने वा नगर्ने तथा कुनै बोल आंशिक वा पूर्ण रूपमा स्वीकार गर्ने अधिकार भने राष्ट्र बैङ्कको खुला बजार कारोबार सञ्चालन समितिसँग रहनेछ।
उक्त उपकरणअन्तर्गत सङ्कलित निक्षेपको साँवा र ब्याज भदौ ३१ गते भुक्तानी गरिनेछ। भुक्तानीको दिन सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको राष्ट्र बैङ्कमा रहेको खातामा तोकिएको ब्याजसहित निक्षेप रकम जम्मा गरिनेछ।
राष्ट्र बैङ्कका अनुसार यसरी सङ्कलन भएको निक्षेपलाई अनिवार्य नगद मौज्दात (सीआरआर) गणना गर्दा समावेश गर्न पाइने छैन। यद्यपि, वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपात कायम गर्ने प्रयोजनका लागि भने गणना गर्न सकिनेछ।
निक्षेपको निर्धारित भुक्तानी मिति अगावै रकम फिर्ता लिन वा प्रि–म्याचुअर भुक्तानी गर्नसमेत नपाइने व्यवस्था गरिएको छ।
बैङ्किङ प्रणालीमा पर्याप्त तरलता कायम रहेपछि राष्ट्र बैङ्कले विभिन्न मौद्रिक उपकरणमार्फत अतिरिक्त तरलता प्रशोचन गर्दै आएको छ। यही क्रममा ल्याउन लागिएको ३० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरणले प्रणालीमा रहेको अधिक तरलता खिच्दै तरलता व्यवस्थापन र ब्याजदरमा सन्तुलन कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
बैङ्किङ प्रणालीको अधिक तरलता खिच्न राष्ट्र बैङ्कले ३० अर्बको निक्षेप उपकरण जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
