
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलनमार्फत बजारबाट खिच्ने भएको छ। तरलता अधिक भएपछि केन्द्रीय बैङ्कले पुनः निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न लागेको हो।
राष्ट्र बैङ्कको अनुसार यसका लागि बुधवार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूले यस प्रक्रियामा सहभागी हुन सक्नेछन्।
निक्षेप दिन इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सक्नेछन्। प्रस्तावित रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैङ्कले निक्षेप सङ्कलन ब्याजदरमा आधारित बोलकबोलमार्फत गर्ने जनाएको छ। साथै, सहभागी संस्थाहरूले बहु ब्याजदरमा एकभन्दा बढी प्रस्ताव समेत पेस गर्न सक्नेछन्।
यस पटक सङ्कलन गरिने निक्षेपको अवधि २३ दिन रहनेछ। राष्ट्र बैङ्कका अनुसार उक्त निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज आगामी असार १९ गते भुक्तानी गरिनेछ।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ६० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
