
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि १५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैङ्कले अनलाइन बोलकबोलमार्फत उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो।
राष्ट्र बैङ्कका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। ऋणपत्रको साँवा २०८४ असार ३० गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिने व्यवस्था गरिएको छ।
बोलकबोलमा सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि त्यसपछि ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान गरिएको रकमसम्मका लागि प्रस्ताव पेस गर्न सक्नेछन्। सहभागीले फरक-फरक ब्याजदरमा समेत बोलपत्र दिन सक्ने व्यवस्था रहेको छ।
केन्द्रीय बैङ्कले प्राप्त बोलपत्रलाई न्यून ब्याजदरदेखि उच्च ब्याजदरको क्रममा मूल्याङ्कन गरी आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँड सीमासम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गर्ने जनाएको छ। सोही एकल ब्याजदरमा उक्त दर वा सोभन्दा कम ब्याजदरमा बोलपत्र पेस गर्ने सहभागी संस्थालाई ऋणपत्र बाँडफाँट गरिने व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ।
