
भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लागू गरिएपछि नेपालगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेखनीय सुधार देखिएको छ। विशेष गरी १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार तिर्नुपर्ने व्यवस्था कार्यान्वयन भएपछि राजस्व वृद्धिसँगै स्थानीय व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार सीमा नाकामा निगरानी र भन्सार जाँचलाई कडा बनाइएपछि चैत र वैशाख महिनामा राजस्व सङ्कलन उल्लेख्य रूपमा बढेको छ। फागुन महिनामा १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ राजस्व उठेकोमा चैतमा यो रकम बढेर २ अर्ब १४ करोड २५ लाख रुपैयाँ पुगेको थियो। वैशाख महिनामा पनि १ अर्ब ८४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
उहाँले सीमापारि भारतको रुपैडिहा बजारमा साना किनमेलका लागि जाने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले लागू गरिएको कडाइले अपेक्षित परिणाम दिन थालेको बताउनुभयो। यसबाट एकातर्फ भन्सार राजस्व बढेको छ भने अर्कोतर्फ नेपालगन्जको स्थानीय बजारमा व्यापारिक गतिविधि समेत विस्तार हुन थालेको उहाँको भनाइ छ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालगन्ज भन्सार कार्यालयले १६ अर्ब ७३ करोड ९७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। चालु आ.व. का लागि कार्यालयलाई २४ अर्ब ५४ करोड ५७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो। वैशाख मसान्तसम्मको असुली लक्ष्यको ६८.२ प्रतिशत बराबर रहेको छ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सीमा क्षेत्रमा गरिएको कडाइपछि नेपाली उपभोक्ताको सीमापार किनमेल घटेको र त्यसको प्रत्यक्ष लाभ स्थानीय व्यवसायीले पाउन थालेको बताउनुभयो। उहाँको अनुसार पछिल्ला महिनाहरूमा नेपालगन्ज बजारमा व्यापारिक चहलपहल बढ्दो क्रममा रहेको छ।
सीमामा कडाइपछि नेपालगन्ज भन्सारको राजस्व बढ्यो, स्थानीय व्यापारमा पनि सकारात्मक प्रभाव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
