वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८०/८१ को श्रावणमा २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा भने विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८०/८१ को श्रावणमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो सङ्ख्या ७५.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव १ प्रतिशतले वृद्धि भई १२ खर्ब ८ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.८ प्रतिशत र अमेरिकी डलरमा २१.५ प्रतिशतले बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
