बैङ्क तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरे पछि मात्र अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिन सक्ने प्रावधान छ। बैङ्क तथा वित्तीय संस्थाहरूले अङ्कित मूल्य १०० रुपैयाँमा अग्राधिकार शेयर जारी गर्न पाइने व्यवस्था गरिएको छ भने ५० जनाभन्दा कम संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्न सकिने व्यवस्था छ। सर्वसाधारण लगानीकर्ता, अनुमतिप्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषलाई भने यसमा लगानी गर्न अनुमति छैन।
धितोपत्र बोर्डले हालसम्म ६ वटा बैङ्कलाई अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको छ। अनुमति पाउने मध्ये ५ वाणिज्य बैङ्क र १ विकास बैङ्क रहेका छन्।
अनुमति पाउनेमध्ये सबैभन्दा पहिलो नबिल बैङ्कलाई ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको छ। बैङ्कले १०० रुपैयाँ अङ्कित मूल्यमा कुल ५ करोड कित्ता अग्राधिकार शेयर जारी गर्नेछ भने बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एसिया क्यापिटलले पाएको छ। नबिल बैङ्कको अग्राधिकार शेयरमा ८ प्रतिशत लाभांश तोकिएको छ।
त्यसतै, एनएमबि बैङ्कले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य अञ्चिति अग्राधिकार शेयर ( Perpetual Non-Cumulative Preference Share ) जारी गर्न स्वीकृति पाएको छ। बैङ्कले १०० रुपैयाँ अङ्कित मूल्यमा कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्ने भएको छ। यस अग्राधिकार शेयरको लाभांश दर ८.२५ प्रतिशत रहेको छ भने बिक्री प्रबन्धकमा रूपमा सिद्धार्थ क्यापिटल रहेको छ।
यसै गरी सिद्धार्थ बैङ्कले ३ अर्ब ५० करोड, सानिमा बैङ्कले २ अर्ब, माछापुच्छ्रे बैङ्कले ३ अर्ब र कामना सेवा विकास बैङ्कले ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न अनुमति पाएका छन्। सिद्धार्थ, सानिमा र माछापुच्छ्रे बैङ्कका अग्राधिकार शेयरमा ८.५ प्रतिशत लाभांश दर तोकिएको छ भने कामना सेवा विकास बैङ्कको लाभांश दर ९ प्रतिशत रहेको छ। अग्राधिकार शेयरको लाभांश मुनाफा भएको वर्षमा मात्र वितरण गरिने व्यवस्था छ।
बैङ्कहरूको अग्राधिकार शेयर बिक्री प्रबन्धकहरूमा सिद्धार्थ बैङ्कको लागि एनएमबि क्यापिटल, सानिमा बैङ्कको लागि मुक्तिनाथ क्यापिटल, माछापुच्छ्रे बैङ्कको लागि लक्ष्मी सनराइज क्यापिटल र कामना सेवा विकास बैङ्कको लागि एनआईएमबी एस क्यापिटल नियुक्त गरिएको छ।
धितोपत्र बोर्डबाट अनुमति पाएका केही बैङ्कहरूले अग्राधिकार शेयर बिक्री गरिसकेका छन् भने केही बैङ्कहरूले बिक्री बिक्री गर्न बाँकी रहेको छ। यसका साथसाथै अन्य बैङ्कहरू पनि अग्राधिकार शेयर ल्याउने तयारीमा रहेका छन्।
धितोपत्र बोर्डद्वारा ६ बैङ्कलाई अग्राधिकार शेयर जारी गर्न अनुमति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
