नबिल बैङ्क र अपोलो इन्फर्मेसन सेन्टरबिच समझदारी, नबिलका ग्राहकले पाउने छन् १० प्रतिशत छुट

नबिल बैङ्क लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फरमेसन सेन्टर बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैङ्कका ग्राहकहरूलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजी करणका लागि उक्त समझदारी गरिएको बैङ्कले जनाएको छ ।

बैङ्कका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फरमेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानुन) सुशील कुमार चापागाईँले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । समझदारीअनुसार अब नबिल बैङ्कका सेवाग्राहीहरूले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् ।


नबिल बैङ्कका प्रमुख बजार अधिकृत सुवेदीले यो समझदारीले बैङ्कका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए । उनले भने, “नेपालबाट विभिन्न रोगका उपचारका लागि भारतका अस्पतालमा जानेको सङ्ख्या उल्लेख्य छ, बैङ्कका ग्राहकलाई विश्व स्तरीय स्वास्थ्य सेवा सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले अपोलो इन्फरमेसन सेन्टरसँगको समझदारी गरिएको हो ।”

समझदारीपछि नबिल बैङ्कका ग्राहक, कर्मचारी तथा शेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधाहरू पाउने बैङ्कले जनाएको छ । यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपाली बिरामीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्नेमा बैङ्कले विश्वास गरेको छ ।

ग्राहकले बैङ्कका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्युआर, नबिल स्मार्ट मोबाइल एप वा बैङ्क ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागू हुने जनाइएको छ ।

अपोलो इन्फरमेसन सेन्टर अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेड भारतको आधिकारिक प्रतिनिधि संस्था हो । जसले दक्ष स्वास्थ्यकर्मी र अनुभवी उद्यमीहरूसहित काठमाडौँको नक्सालमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x