ग्लोबल आइएमई बैङ्क लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्ययतामा भएको उक्त कार्यक्रममा बैङ्कको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरू सहित विभिन्न संस्थाको प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
बैङ्कले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैङ्किङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो ।
यस प्रतियोगितामा २१ टोलीहरूलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरिएको थियो । प्रतियोगी टोलीहरू विभिन्न स्थान काठमाडौँ, महेन्द्रनगर, पोखरा, वीरगन्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए ।
सहभागी टोलीहरू मध्य टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप रु १ लाख जित्न सफल भएको छ । साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरूले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ पुरस्कारबाट पुरस्कृत भएका छन् । दोस्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौँ हुने क्रमशः टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै, वेस्ट प्रिजेन्टेसन विद्या अन्तर्गत बैङ्कले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ ।
प्रतियोगिताका विजेता टोलीहरूलाई उक्त कार्यक्रमका प्रमुख अतिथि, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गर्नुभयो ।
नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैङ्कलाई धन्यवाद दिनुभयो । यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरूलाई अवसर प्रदान गर्नुका साथै बैङ्कका सेवा तथा सुविधाहरूमा नविनतम् प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैङ्कले लिएको डेपुटी गभर्नर मिश्रले जानकारी दिनुभयो ।
कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैङ्किङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतीहरूको समाधानको लागि सहयोग पुग्नुका साथै नविनतम् सेवाहरूको विकासमा सहयोग पुग्ने विश्वास बैङ्कले लिएको जानकारी दिनुभयो । यस प्रतियोगिताको उत्कृष्ट टोलीहरूलाई बैङ्कले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी प्रदान गर्नुभयो ।
बैङ्क प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैङ्किङ सेवाहरूलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरूलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैङ्कले लिएको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैङ्कले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरूले बैङ्कको वेबसाइट मार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अन साइट ह्याकाथन भएको हो ।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सटेन्सन २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो । साथै ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कको ह्याकाथन कार्यक्रम सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
