दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुँचका लागि निर्माणाधीन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरूले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् जनप्रदर्शन गरिएको छ ।
आम स्थानीयहरू केबुलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरू लागेको भन्दै आक्रोशित स्थानीयहरूले छिटो केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् ।
उनीहरूले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लेकार्ड र ब्यानर सहित सदरमुकाम फुङलिङमा विशाल प्रदर्शन गरेका हुन् ।
ताप्लेजुङको विकास र समृद्धि रोक्न जिल्ला बाहिर र बसाई सरी अन्यत्र पुगेका मान्छेहरूलाई नलाग्न समेत उनीहरूले आग्रह गरेका छन् ।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको विशाल प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाको उपस्थिति रहेको थियो ।
पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै केही व्यक्तिहरूले विरोध गरिरहेका छन् ।
पाथीभरामा केबलकार निर्माणको प्रसङ्ग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केबलकार प्रालिको स्थापना भएको हो ।
यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो ।
करिब दुई वर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ ।
नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतिहरू प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी आयोजना अघि बढाउने काम भएको छ ।
आइएमई समूहले मुलुकका सात वटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तव्यहरू बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठुलो शेयर लिएर काम अगाडि बढाएको हो ।
कम्पनीले केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ ।
केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने काम समेत सम्पन्न भई केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माणको काम सुरु भएको थियो ।
केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयवासीको विशाल प्रदर्शन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
